सुदूरपश्चिम प्रदेशमा थुप्रै पद रिक्त, राजनीतिक नियुक्तिमा ढिलाई
2025/05/12, 11:48
 
dd

डेढ महिनादेखि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पद रिक्त छ । ०७७ चैतमा चार वर्षका लागि खेलकुद परिषद्को सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका थिए । उनको कार्यकाल ९ चैतदेखि सकिएको छ । रिक्त पदमा नियुक्तिका लागि सत्तारुढ कांग्रेस र एमाले सम्मिलित कार्यदलबीच छलफल भए पनि नियुक्तिमा भने ढिलाइ भएको छ । परिषद्को सदस्य सचिवमा कांग्रेसले दाबी गरेको छ । २९ फागुन २०७८ मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रादेशिक र प्रदेश मातहतका अन्य अस्पताल व्यवस्थापन समितिमा राजनीतिक नियुक्ति गरेको थियो । सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियुक्त भएका थिए ।

त्यस्तै, टीकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा झपटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियुक्त भएका थिए । सरकारले जिल्ला अस्पताल डोटीको अध्यक्षमा धनबहादुर नेपालीलाई २०७८ चैतमा नियुक्त गरेको थियो । सामाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मीका अनुसार प्रदेश मातहतका सबै अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष र सदस्यको पद रिक्त भएको छ । ‘आपसी समझदारीमा नियुक्त गर्ने विषयमा राजनीतिक दलहरूबीच सहमति छ,’ सचिव रेग्मीले भने, ‘अहिले नै नियुक्तिको प्रक्रिया भने अगाडि बढेको छैन । छिट्टै पदपूर्ति होला भन्ने आशा छ ।’

दुई प्रादेशिक अस्पतालमध्ये सेतीमा कांग्रेस र महाकालीमा एमालेले अध्यक्ष पाउनेबारे छलफल भएको बताइएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सिफारिसमा चारवटा पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिमा अध्यक्ष, कार्यकारी निर्देशक र सदस्य मन्त्रिपरिषद्ले नियुक्त गर्दै आएको छ । त्यसमध्ये अछामको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति भएका छन् ।

रामारोश पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिमा पनि अध्यक्षलगायतको पद रिक्त छ । यस्तै, खप्तड पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति पनि माघदेखि रिक्त छ । बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर बोहराको कार्यकाल भने ०८२ असारसम्म छ । रिक्त रहेको प्रदेश नीति तथा योजना आयोगमा भने पदपूर्ति भइसकेको छ । आयोगको उपाध्यक्षसहित दुई सदस्य कांग्रेसको भागमा परेको छ भने दुई सदस्य एमालेले पाएको छ । यस्तै, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा कुलपति पद पनि रिक्त छ ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरको चार वर्षे कार्यकाल पनि आगामी जेठमा सकिँदै छ । परिषद्मा उपाध्यक्ष नियुक्तिमा एमालेको दाबी छ । सत्तारुढ दल कांग्रेस र एमाले सम्मिलित राजनीतिक संयन्त्रको बैठकले तत्काल रिक्त पदमा नियुक्ति गर्ने सहमति गरेको थियो । रिक्त पदमा भागवन्डा गरी नियुक्त गर्ने कांग्रेस–एमालेले निर्णय गरेका थिए ।