मोहनापुल–अत्तरिया ६ लेन सडकको गोदावरी क्षेत्रमा पनि झिलिमिली हुँदै
2025/05/23, 12:33
 
dd

मोहनापुल–अत्तरिया ६ लेन सडकको गोदावरी नगरपालिका क्षेत्रमा पनि झिलिमिली हुने भएको छ। अत्तरियादेखि गोदावरी नगरपालिका क्षेत्रमा विद्युतीकरणको काम थालिएको हो।

गोदावरी नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा विद्युतीकरणको काम थालिएको छ। अत्तरिया–धनगढी ६ लेन सडक खण्डमा दुई महिना भित्र विद्युतीकरणको काम पूरा गर्ने लक्ष्य रहेको छ। विद्युतीकरणका लागि बिहिवारबाट पोलका खाल्डो खन्न थालिएको छ। मौसम र अन्य अवरोध नभएको खण्डमा दुई महिना भित्र काम सक्ने तयारी छ।

सूर्योदय ऊर्जा प्रालिले उक्त सडक खण्डको मनहरा पुल र ट्राफिक चेक पोस्ट नजिकको पुलको क्षेत्रमा हाई मास्ट लाइट र १८३ वटा स्ट्रीट लाइट जडान गर्ने योजना छ। २८ मिटरको दूरीमा सडकको मिडियन भागमा स्ट्रिट लाइटहरू जडान गर्नका लागि बिहिवारदेखि काम अगाडि बढेको छ। गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले विगतका दिनमा सामाजिक सञ्जाल र मिडियामा गोदावरी नगरक्षेत्र अन्तर्गत अत्तरिया–धनगढी ६ लेन सडकमा स्मार्ट सडक बत्ती बलेन भनेर आलोचना गर्दै आएकामा सडक बत्ती जडान कार्य गरिएको छ। उनले दुई महिनाभित्र सडक क्षेत्र झिलिमिली हुने र सबै पक्षले सहयोग गर्नुपर्ने बताएका छन्।

अत्तरिया–धनगढी ६ लेन सडक खण्डमा २ ओटा र तेघरी ब्यारेक कापडाको रुख नजिक र गोदावरी– ११ र १२ को सङ्गमस्थल गौडी चोकमा पनि हाई मास्ट लाईट जडान हुने नगर प्रमुख भट्टले बताए। सूर्योदय ऊर्जा प्रालिका इन्जिनियर रबिन महतोका अनुसार २ महिना भित्र निर्माणको काम सकीन्ने छ। यद्यपि ठेक्का अवधि अझै ६ महिना बाँकी रहेको समेत बताएका छन्।

गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरले प्राविधिक निगरानी नियमित गरिने बताए। सडकमा विद्युतीकरणको २ करोड ३४ लाख १६ हजार ६३१ रुपैयाँको लागतमा सम्झौता भएको हो। गोदावरी नगरपालिकाको एक करोड ५२ लाख २० हजार ८१० रुपैयाँ र बाँकी रकम नेपाल विद्युत् प्राधिकरणले ब्यहोर्ने कुँवरले बताएका छन्।