सुदूरपश्चिमका लागि सरकारले एयर एम्बुलेन्स ‘स्ट्यान्डबाइ’ राख्ने
 
aa

सुदूरपश्चिममा एयर एम्बुलेन्स ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्न सरकारले व्यवस्था मिलाउने भएको छ । शासकीय सुधारका लागि तय गरेको १०० कार्यसूचीअन्तर्गत उक्त विषय पनि अटाएको हो ।

ूसुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रहरुमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा ९स्ट्यान्डबाइ० राख्ने व्यवस्था तत्काल लागू गर्नेू, कार्यसूचीमा भनिएको छ ।

यस्तै, सरकारले सरकारी तथा निजी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कम्तीमा १० प्रतिशत शय्या निस्शुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ ।

त्यसैगरी अस्पतालहरूले उपलब्ध गराएको निस्शुल्क सेवाको विवरण तथा सेवा उपयोगको वास्तविक समयमै अनुगमन गर्न ‘फ्री हेल्थ पोर्टल’ विकास गरी ३० दिनभित्र देशभर सञ्चालनमा ल्याइने सरकारले जनाएको छ ।

त्यस्तै बिरामीको उपचार इतिहास, रिफरल, पुनस्सेवा तथा क्लिनिकल फलोअप व्यवस्थित गर्न डिजिटल र एकीकृत ‘पेसियन्ट रेकर्ड सिस्टम’ तीन महिनाभित्र विकास गर्ने भनिएको छ ।

अनावश्यक रूपमा निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट रिफर प्रोटोकल लागू गरिने  कार्यसूचीमा उल्लेख छ ।

यसैगरी प्रदेशस्तरमा जलन उपचारका लागि सुविधासम्पन्न अस्पतालको अभावका कारण बढ्दो मृत्यु, अपाङ्गता तथा दीर्घकालीन पुनर्स्थापना समस्यालाई ३० दिनभित्र प्रदेश अस्पतालहरूमा ‘बर्न वार्ड’ स्थापना प्रक्रिया सुरु गर्ने जनाएको छ ।