प्लाष्टिकमुक्त बनाउने लोकप्रिय काममा एक्लै लागेका  लोकबहादुर
2020/07/12, 8:49
 
lok

धनगढी उपमहानगरपालिका–५ जाँई, भैरव टोलका लोकबहादुर खड्का हरेक बिहान दुइ देखि तीन घण्टा सडकमा बिताउँछन । उनले यसो गर्न लागेको ९ महिना भयो । धेरैलाई अचम्म लाग्न सक्छ, हरेक दिन लोकबहादुर सडकमा किन हिँड्छन् भनेर । तर उनी त्यत्तिकै समय बिताउनलाई सडकमा निस्केका होइनन् । उनी यतिबेला प्लाष्टिकमुक्त अभियानमा जुटेका छन् ।

लोकबहादुर हरेक दिन बिहान सडकमा रहेका प्लाष्टिकजन्य बस्तु जम्मा गर्छन् र तिनको व्यवस्थापन गर्छन् । गत कात्तिकदेखि यस अभियानमा जुटेका लोकबहादुर हरेक दिन झण्डै २ किलोमिटर सडक क्षेत्रमा रहेका प्लाष्टिकजन्य बस्तुहरु उठाउँछन् । उनी आफ्नो घर आसपासका ४ वटा सडकमा दैनिक सरसफाइमा जुटेका छन् । कुटानी–पिसानी मिल सञ्चालन गरिरहेका लोकबहादुरलाई यो काम गर्न न त कसैले सहयोग ग¥यो न त कसैले खटायो । उनी आफै स्वेच्छाले यस अभियानलाई निरन्तरता दिइरहेका छन् ।

‘शुरुमा आफ्नो घर अगाडी रहेका प्लाष्टिकहरु हटाउन शुरु गरेँ’, लोकबहादुरले भने, ‘अलि अगाडि बढ्दै जाँदा सबै ठाउँमा प्लाष्टिक नै प्लाष्टिक देखेपछि मनमा बिझ्यो र जता देख्यो त्यताको उठाउँदै गएँ, अहिले आसपासका ४ वटा सडकमा दैनिक २ देखि ३ घण्टा हिँड्छु र प्लाष्टिक हटाउँछु ।’ सुरुवाती दिनमा आफ्नो काम देखेर टोलका सबैले ‘कचरावाला’ आयो भन्दै गिज्याउने गरेको सुनाउँदै उनले भने, ‘सुरुमा प्लाष्टिक उठाउँदै जाँदा बाटोमा भेटिएकालाई यसरी नफाल्नु भन्दा उल्टै झगडा गर्थे तर अहिले टोलका अरुले पनि सकभर जथाभावी प्लाष्टिक फाल्न छोडेका छन् ।’ प्लाष्टिकमुक्त अभियान सफल बनाउन एक्लैले सम्भव नभएको लोकबहादुरको अनुभव छ । उनी भन्छन्, ‘अहिले सफाइ गरिरहेको एरियामा कसैले सहयोग नगरे पनि निरन्तर लागिरहने छु ।’

लोकबहादुर हरेक बिहान उठ्ने बित्तिकै हातमा पञ्जा लगाएर प्लाष्टिक जम्मा गर्न फलामको छड सहित सडकमा निस्कन्छन् र आफूले नियमित घुम्ने एरियामा घुमेर सडकमा फालेका प्लाष्टिक जन्य बस्तु संकलन गरी एक ठाउँमा जम्मा गरी घर फर्कन्छन । ‘सुरुमा यो काम गर्न आफूलाई अलि लाज लाग्दथ्यो, घरका मान्छे पनि खाली समय बर्बाद गरेको भन्दै रिसाउँथे’, उनले भने, ‘अहिले घर आँगन र टोल छिमेकमा सफा भएपछि घर र टोलका मान्छेले पनि सहयोग गर्न थालेका छन् ।’

1

‘लामो समयदेखि सडकमा लगातार फोहोर टिपेको देखेर कसले काम लगाएको रहेछ भन्ने लागेको थियो’, लोकबहादुरका छिमेकी टोल जाँईका प्रेम बहादुर थापाले भने, ‘अहिले बुझ्दा उनको अभियानले ठूलो प्रेरणा जगायो । अन्य ठाउँका मानिसले पनि लोकबहादुरको सिको गरेर आ–आफ्नो टोल प्लाष्टिकमुक्त बनाउन लाग्नुपर्छ ।’ उनले लोकबहादुरको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए ।

लोकबहादुरकै टोलका उद्धबबहादुर क्षेत्री उनको मेहेनत र लगनशिलता देखेर अचम्मित छन् । उनले भने, ‘नौ महिनादेखि हरेक दिन एक्लै सडकमा रहेका प्लाष्टिक सफा गर्न लागेका छन्, उनको अठोट र लगनशिलताले अहिले टोल सफा बनेको छ ।’ लोकबहादुरको अभियानमा अब टोलवासीको पनि सहयोग रहने क्षेत्रीले बताए ।

2

पञ्जा, फोहोर उठाउने केही साधन र डष्टवीन कसैले सहयोग गरे आफ्नो अभियानलाई सहयोग पुग्ने लोकबहादुरको भनाइ छ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड सहित वडा अध्यक्षलाई आफूले सफा गरिरहेको टोल घुमाई अभियानका बारेमा जानकारी गराए पनि धन्यबाद समेत नदिएको लोकबहादुरको गुनासो छ ।