सीमावर्ती क्षेत्रमा तरकारी किसान तनावग्रस्त 
2020/07/12, 11:53
 
tarkari

कञ्चनपुरको महाकाली नगरपालिका १० स्थित कुतियाँकबर भारतसँग प्रत्यक्ष जोडिएको सीमावर्ती क्षेत्र हो । भारतसँग जोडिएको सो सीमा क्षेत्रमा नेपाली किसानहरु बेला बेला मारमा पर्ने गरेका छन् । कहिले बन्दाबन्दी कहिले सीमा विवाद र स्रोत साधनको समेत अभावले किसान तनावग्रस्त अवस्थामा छन् । सिजनमा खेतीपातीका लागि समान उपलब्ध हुन नसक्ने भएकोले यहाँका किसानहरु वर्षायाममा तरकारी खेती गरेरे विगतका १२ वर्ष यता देखि खेतीपातीबाट मनग्गे आम्दानी गर्ने गरेका छन । सिजनको तरकारी खेतीले नै घर चलाउने गरेका  किसान अहिले भारतीय बजारसगँ आवतजावत सम्बन्ध रोकिएपछि चिन्तित बनेका छन । 

नेपाली बजारको पहुँच हुन नसकेको सीमावर्ती क्षेत्र कुतियाँकबर भारतकै भरमा चल्ने गरेको छ । पछिल्लो समय कालापानी विवाद चर्किएपछि  भारतीय सेना एसएसबीले भारतीको भुमीमा नेपालीको प्रवेशमा रोक लगाएपछि किसानको आम्दानीको स्रोत ठप्प परेको छ । ३६ घरधुरी भएको सिङ्गो कुतियाँकबर गाउँ नै वर्षयामको समयमा उचित एवम् सहुलियत विउविजन नपाउने भएकोले धानको सट्टा तरकारी फलाउने गर्दछ । खेती किसानीका लागि  पनि भारतकै भरपर्ने गरेको सो सीमावर्ती क्षेत्रमा यस वर्ष बन्दाबन्दीले फलेको तरकारी समेत किसानले खेतबारीमै कुहाएर मल बनाईराखेको अवस्था छ ।

स्थानीय गाउँका किसानहरु भन्छन्ः कोरोना कहरभन्दा पनि सीमा विवादले दुःख दियो 
३० वर्षदेखि कुतियाँ कबरमा बस्दै आएका  दिपक सुनार ३ विगा जमीनमा तरकारी खेती गरिरहेका छन् । उनको खेतमा  परबल, करेला, खुर्सानी, भन्टा, लौकी लटरम्म फलेका छन्, तर नेपाली बजार ल्याउन स्रोतसाधन छैन । नजिकैको भारतीय बजार लैजान भारतीय सेना बल एसएसबीले  प्रवेश बन्द गराएको सुनारले बताए ।  उनले भने–‘भारतको भरमा जीवन चलाउने गरेका छौ । हाम्रो खेतमा फल्ने तरकारी सबै भारतीय बजारको खपत हो । कालापानी विवादपछि त्यो पनि बन्द भयो । हाम्रो कारोबार नै भारतसँग छ ।’ उनले थपे– ‘अहिले भारतले आफ्नो जमीनमा हामीलाई खुट्टा पनि राख्न दिदैन । भारतले घर आगनकै अगाडी आएर हेलाको व्यवहार देखाउँछ ।

घर परिवारको खर्च धान्न समेत भारतलाई ज्यु हजुरी गरिरहेका कुतियाँकबरका किसानहरुले आफु प्रति आफ्नै सरकारको चासो नभएको भन्दै दुख व्यक्त गरेका छन् । नेपाल सरकारले आफुहरुको पीडा सुन्न नसकेको हुदाँ भारतीय नागरिकले अझ धेरै घर अगाडी आएर अपहेलना गर्ने गरेको स्थानीयले जानकारी दिए । कुतियाकबरका अर्का किसान टेक बहादुर सुनारले पनि विगत २० वर्षदेखि १० विगा जमीनमा तरकारी खेती गर्दै आएका छन । धान खेतीमा घाटा हुने भन्दै  भारतीय बजारलाई मध्यनजर गरी तरकारी खेतीको सुरुवात गरेको टेक बहादुर सुनारले बताए ।

उनले भने–‘सिजनमा तरकारी  फलाउन सके लाखौंको कमाई हुन्छ ।’ अहिले फलाएको तरकारी पनि खेतमै नष्ट गर्नुपर्ने अवस्था छ । सबै तरकारी भारतमा बेच्ने गर्थे अहिले नाका बन्द भएपछि बर्बाद भए । उनले अगाडी थपे–‘अहिले पनि मेरा खेतमा ३ देखि ५ लाखको तरकारी छ । जुन खेतमै मल बनाउनुपर्ने अवस्थामा छु । भारतले कोरोनाको बेला सीमा खासै बन्द गरेको थिएन यो कालापानी मुद्दा उठेपछि हाम्रो दैनिकी नै ठप्प राख्यो । हामीले कसरी साना छोराछोरी बचाउने ?

उता कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले सो ठाउँको कृषि बारे छिट्टै छानविन गरी प्रकृया अगाडी बढाउने बताए । विगाहौंको तरकारी खेती खेतमै नष्ट गर्नुपर्ने अवस्था  भएको सूचना आफु कहाँ आएको र छानविन समेत सुरु भएको बताए । उनले तरकारी खेती नष्ट हुन नदिने र भएका किसानलाई सम्बन्धित स्थानीय तहका कृषि शाखामा जानकारी गराउन आग्रह पनि गरे ।