सुदूरपश्चिममा कोरोना संक्रमित ३९२०, डिस्चार्ज १४७१, आईसोलेसनमा ७९ जना 
2020/07/13, 6:50
 
corona

सुदूरपश्चिम प्रदेशमा झण्डै १५ सय कोरोना संक्रमित घर फर्केका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा आईतबारसम्म संक्रमण पुष्टि भएका ३ हजार ९ सय २० जना मध्ये १४ सय ७१ जना डिस्चार्ज भएर घर फर्केका छन् । हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा बाँकी रहेका संक्रमित मध्ये मात्रै ७९ जना प्रदेशका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् ।

बाँकी सबै संक्रमितहरु केही होम क्वारेन्टिन र केही स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा रहेका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिं कार्कीले जानकारी दिए । मन्त्रालयले जारी गरेको प्रेश नोट अनुसार सबै भन्दा बढी कोरोना संक्रमित कैलालीको टीकापुर अस्पतालको आइसोलेसनमा रहेका छन् । टीकापुर अस्पतालमा ३९ जना संक्रमित उपचाररत छन् ।

यसैगरी सेती प्रादेशिक अस्पतालमा ७ जना, महाकाली अस्पतालमा १८ जना, जिल्ला अस्पताल अछाममा १० जना, डोटीमा २ जना, बाजुरामा २ जना र कैलालीको मालाखेती अस्पतालमा ३ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । उनले सबै संक्रमितको अवस्था सामान्य रहेको बताए ।

प्रदेशमा प्रदेशमा अहिलेसम्म जम्मा २७ हजार एक सय २० जनाको थ्रोट स्वाव नमुना संकलन भएकोमा आईतबारसम्म २६ हजार तीन सय ९७ को पीसीआर विधिवाट परीक्षण भई नतिजा आइसकेको छ । मन्त्रालयका अनुसार अब ७ सय २३ थ्रोट स्वावको मात्र नतिजा आउन बाँकी रहेको छ । यस्तै प्रदेशमा एक लाख १८ हजार दुई सय ३ जनाको आरडिटी परीक्षण गरिएको जनाईएको छ ।