हत्याका दोषी दुई जना प्रधानाध्यापकलाई तलब दिइयो
2020/07/13, 5:41
 
talab

बैतडीमा हत्याका दोषी प्रधानाध्यापकलाई तलब दिइएको खुलेको छ। जिल्लाको जशलिङ्ग प्राविका प्रधानाध्यापक महानन्द कपाडी कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएपनि विद्यालयले तलब दिएको अख्तियारको छानविनबाट खुलेको हो। कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएपनि निजलाई निलम्बन नगरी विद्यालयबाट पाउने तलब भत्ता प्रदान गरी भ्रष्टाचार गरेको उजुरीको आधारमा अख्तियारले छानविन गरेको थियो।

अनुसन्धानका क्रममा कपाडीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र श्रोतव्यक्ति हरी नाथ समेतको सहमतीमा एकासी हजार नौ सय रुपैयाँ तलब बुझेको खुलेको हो।  जसलिङ्ग प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक महानन्द कपाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरी नाथले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेको देखिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम ८१ हजार नौ सय रुपैयाँ बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको उनले बताए। यस्तै बैतडीमै कर्तब्य ज्यान मुद्दामा दोषी ठहर अर्का प्रधानाध्यापकलाई पनि तलब दिएको खुलेको छ। जिल्लाको बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतन सिंह भण्डारीलाई दोषी ठहर भएपनि तलब दिएको खुलेको हो। भण्डारीले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा ८३ हजार एक सय रकम बुझी लिएको अख्तियारले जनाएको छ।

बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतन सिंह भण्डारी र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेको देखिन आएको प्रवक्ता कोईरालाले बताए। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम ८३ हजार एक सय रुपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको उनले बताए।