घुस सहित पक्राउ परेका प्रहरी इन्सपेक्टर र कानुन व्यवसायी विरुद्ध भ्रष्टाचार मुद्धा
2020/07/13, 6:25
 
corona

धनगढीमा ५० हजार घुससहित पक्राउ परेका प्रहरी निरिक्षक र एक जना कानुन व्यवसायी विरुद्ध आरोपपत्र दायर गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक प्रकाश सिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट विरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले ५० हजार घुसहित पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको सार्वजनिक हित विपरितको र जवर्जस्ती करणीको मुद्दामा सहजीकरणको लागि प्रहरी निरीक्षक कार्कीले अधिवक्ता हिमालय बिक्रम बिष्टलाई सेवाग्राहीसँग रकमको बार्गेनिङ गर्न लगाई घुस दिन वाध्य पारेको खुलेको छ। 

कार्कीबाटै उक्त रकम बरामद भएको समेत अख्तियारले जनाएको छ। कार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंएको र उनलाई ५० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिइएको छ।

यस्तै विष्टले घुस रकम कार्कीलाई उपलब्ध गराएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ। विष्टविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।