दुई कोठे टिनले छाएको सानो घर र एउटा शौचालय बनाउन नेपालमा कति खर्च लाग्छ होला ? त्यो पनि सजिलो गरी निर्माणका सामग्री ढुवानी गर्न सकिने तराई क्षेत्रमा । हो, केही लाख रुपैयाँमा सो भवन बन्छ नै होला । तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौलमा निर्माण भएको सहरी स्वास्थ्य भवनको निर्माण लागत १८ लाख रुपैयाँ लागेको छ ।
दुई कोठे टिनले छाएको संरचना र एउटा शौचालय निर्माणका लागि यत्रो पैसा खर्च भएको देखाएपछि स्थानीयले गाउँ गाउँमा सिंहदरबार भ्रष्टाचारको लहरो बोकेर आएको अनुभूती गरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयबाट आएको सहरी स्वास्थ्य भवन निर्माणको काम भ्रष्टाचारको नमुना बन्न पुगेको छ ।
छतमा टिनले छाइएको र कच्चा तरिकाले बनाइएको भवनमा सिधै भ्रष्टाचार भएको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीय दीपक भट्टले सानो भवन निर्माणमा ठूलो बजेट खर्च भएको र भवनको अवस्था दयनीय देखिएको बताए । उनले सामान्य आँखाले हेर्दा निर्माणमा आवश्यक पर्ने स्रोतसाधनको स्थानीय मूल्य हेर्दा र बनेको भवनको अवस्था हेर्दा सिधै भ्रष्टाचार भएको देख्न सकिने भए पनि सबै जना चुप लागेर बसेकोमा आश्चर्य व्यक्त गरे ।
भवन निर्माणमा सबैले मिलेर रकम हिनामिना गरेकाले सबैजना तैँ चुप मै चुप भएको उनले बताए । दुई कोठे भवन र शौचालयका लागि प्रदेशको मन्त्रालयबाट आएको बजेटभन्दा उपभोक्ता समितिले बढी खर्च देखाएको छ । प्रदेशबाट आएको बजेटभन्दा चार लाख ४० हजार रुपैयाँ बढी खर्च देखाइएको हो ।
विभिन्न २१ शीर्षकमा खर्चको विवरण राखेर समितिले सम्झौता अनुसार भुक्तानीका लागि स्वास्थ्य कार्यालयमा निर्णय सहित पठाएको छ । समितिले १८ लाख १५ हजार रुपैयाँ खर्च भएको देखाएको छ । उपभोक्ता समितिले विभिन्न २१ शीर्षकमा खर्च देखाइएको छ । जसमा अधिकांश दोहोरिएका छन् । भवन चिनाई तथा प्लास्टर कार्यमा शीर्षक राखेर एक लाख ७२ हजार पाँच सय र त्यही विषयमा अर्को शीर्षक राखेर भवन चिनाई तथा प्लास्टर ढलान भनेर एक लाख ३९ हजार आठ सय रुपैयाँ देखाइएको छ । बालुवा, गिटी, ढुंगा र काठ ढुवानी भनेर एक लाख २५ हजार देखाइएको छ । ज्याला तथा हरेक सामग्रीको मूल्य बजारभन्दा धेरै चर्को राखिएको छ । स्थानीय चक्र साउँदले बाहिरबाट हेर्दा उपभोक्ता समितिले स्टिमेट अनुसार नै काम गरेको तर दायाँबायाँ भएको भए थाहा नभएको बताए ।
लकडाउनका कारण निर्माण सामग्रीको मूल्य वृद्धि हुँदा खर्च भएको उपभोक्ता समितिको दाबी छ । उपभोक्ता समितिका अध्यक्ष लालमन रानाले इन्जिनियर र प्राविधिकले जे–जे भन्यो त्यही अनुसार काम गरेको बताए । ‘हामीले स्टमेट अनुसारै काम गरेका छौँ,’ उनले भने, ‘हामीबाट कमी–कमजोरी भएको छैन, इन्जिनियर प्राविधिकबाट भएको हामीलाई थाहा छैन ।’
स्थानीय जनप्रतिनिधिले समेत भवन निर्माणमा अनियमितता भएको आशंका गरेका छन् । भवन निर्माणका लागि खटिएका प्रदेश मन्त्रालय, प्राविधिकबाटै भ्रष्टाचार भएको जनप्रतिनिधिको दाबी छ । शुक्लाफाँटा नगरपालिका– ६ का वडाध्यक्ष जग्ता रानाले स्टमेट गलत बनाएर प्राविधिकबाटै त्रुटि भएको बताए । ‘सानो भवन निर्माणमा बढी रकम लाग्दैन,’ उनले भने, ‘अनियमितता गर्ने जो कोही भए पनि कारबाही हुनुपर्छ ।’ भवन निर्माण गर्दा वडासँग जमिन र सिफारिस बाहेक कुनै पनि समन्वय नगरिएको उनले बताए ।