सुदुरपश्चिममा पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको देखिए पनि त्रास भने घटेको छैन । लामो समयको लकडाउनबाट आजित मानिसहरुले नियमित कामका निस्किन थालेका छन् । सरकारी तथा गैर सरकारी कार्यालयले सेवा बढाउदै लगेका छन् भने बैंकिङ क्षेत्र, स्थानीय तह र बिकासे अड्डाहरुमा पनि भिडभाड बढ्न थालेको छ ।
सरकारले अनिबार्य भनेका कारण बजार निस्कदा प्रहरीलाई देखाउन भए पनि अधिकांश स्थानीयलाई मुख छोप्नु झन्झटिलो बनेको छ । आर्थिक अवस्थाले मास्क फेर्न नसक्नेहका भित्तामा सहर जादा लगाउनका लागि भनेर एउटा मास्क झुण्डिएको हुन्छ । अन्य समयमा मास्कको प्रयोग ब्यबहारिक पनि देखिदैन। लकडाउनको सुरुवाती दिनमा दैनिक दर्जनौ पटक हात धुनेहरुले बिस्तारै कम गर्न थालेका छन भने सेनिटाईजरको प्रयोग पनि घट्दै गएको छ ।
कोरोना संक्रमण घटेको भनिए पनि डर भने कायमै रहेको स्थानीय बताउँछन् । ‘अहिले बजारमै समेत आफ्नो सुरक्षाका लागि भन्दा पनि सुरक्षाकर्मीबाट बच्नलाई मास्क लगाएको जस्तो देखिन्छ ।’ धनगढीका स्थानीय प्रकाश पाण्डेय भन्छन् ‘डर हराए पनि त्रास चाहि कायम नै छ ।’ उनका अनुसार मृत्यु दर कम हुनु र जनचेतनाको पनि कमिका कारणले स्थानीयहरुले कोरोनाको जटिलतातिर ध्यान दिन सकेका छैनन् ।
जनप्रतिनिधिहरु पनि स्थानीयमा डर हराउदै गएको बताउछन । ‘डर हराउदै गए जस्तो देखिन्छ। सबैले पचाउदै गए ।’ धनगढी उपमहानगरपालिकाका प्रमुख नृपवहादुर ओड भन्छन् ‘पहिले संक्रमण नहुदा सबैमा डर देखियो तर जब अहिले ध्यान दिनुपर्ने बेला आयो सबैको डर हराउदै गयो ।’ उनका अनुसार अहिलेको बानी ब्यबहारले संक्रमण बढाउने चिन्ता थपेको छ । ‘अझै केहि समय सबैले सजकता अपनाउनु पर्ने देखिन्छ ।’
‘कोरोनाका कारणले मरिदैन भन्ने कुरा बिस्तारै मान्छेले बुझदै गएपछि डर हराउदै गएको हो । तर डर हराउदै गएर साबधानी अपनाईएन र समुदाय स्तरमा रोग फैलियो भने जोखिम ब्यबस्थापनमा कठिन हुन्छ ।’ सेती अस्पतालका डा. निराजन शर्मा पौडेल भन्छन् ‘अझै पनि साबधानी अपनाउनु पर्ने देखिन्छ ।’ उनका अनुसार सहज रुपमा लिनु सकारात्मक हो तर साबधानी अपनाउनु पर्छ । समुदाय स्तरमा पुग्नुबाट रोक्नलाई सजकता अपनाउनै पर्छ ।
प्रयाप्त परीक्षण नगरिएका कारणले संक्रमितको संख्या भने बढेको देखिदैन। स्थानीय तह, प्रदेश र केन्द्र सरकारले फितलो ब्यबस्थापन र परीक्षण नै गर्न नसकिएको कुरा ध्यानमा राख्दै रोग ब्यबस्थापना थप चासो दिनु पर्ने देखिन्छ । त्यसो त लामो समयको लकडाउनले आत्तिएका आम नागरिकलाई थप सुसुचित गर्दै कोरोनाबारेका तथ्य र भ्रम चिर्नुपर्ने देखिएको छ ।