सुदूरपश्चिममा दैनिक कोरोना संक्रमण दर घट्यो
2020/07/14, 12:20
 
corona

सुदूरपश्चिममा दैनिक कोरोना संक्रमण दर घटेको छ । पछिल्लो केही दिनदेखि सुदूरपश्चिममा स्वाब संकलनमा कमि आएछि कोरोना परीक्षण पनि घटेको छ । असार दोस्रो र तेस्रो सातामा संकास्पद विरामीको संख्या बढेपछि देशभरीका पाँच वटा प्रयोगशाला मार्फत सुदूरपश्चिमबाट संकलित स्वाबको नमुना परीक्षण थालिएको थियो । तर अहिले भने डडेल्धुरा, धनगढी र टेकु प्रयोगशाला मार्फत मात्रै सुदूरपश्चिमबाट संकलन गरिएका स्वाबको परीक्षण हुने गरेको छ । सोमवार साँझसम्म ६ सय १ जनाको स्वाबको मात्रै परीक्षण बाँकी रहेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालाका प्रमुख रमेश शाहीले अहिले पनि औसतमा दैनिक तीन सय जनाको कोरोना परीक्षण हुँदै आएको बताए । 

गत असार १९ गते सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पाँच सय १५ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । धनगढी प्रयोगशाला र काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ८ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पाँच सय १५ जनामा कोरोना पुष्टि भएको थियो । सो दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ४७ जना, त्रिवि शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा दुई सय सात र धनगढीको सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर त्यसपछि संक्रमितको संख्या क्रमशः घट्दै गएको छ । 

प्रदेशमा पछिल्लो समय संक्रमितको संख्या घटेपछि जोखिम कम भएको अनुमान भईरहेको बेला भारत तथा कोरोना प्रभावित क्षेत्रबाट फर्किने क्रम कम भएको छ भने समुदाय स्तरमा अझै परीक्षण हुन सकेको छैन । समुदाय स्तरमा परीक्षण नहुँदा जोखिम कायमै रहेको हो । तर प्रदेश सरकार लगायतका निकायले परीक्षणको दायरा फराकिलो बनाउन ध्यान दिएका छैनन् । सरकारले भारतबाट फर्किएका र आरडिटी पोजेटिभ देखिएकाहरुको मात्र परिक्षण गरेकाले कोरोना संक्रमणको जोखिम भने कम नभएको हो ।

पहिलेको तुलनामा लकडाउन पनि खुकुलो भएकाले संक्रमणको जोखिम अझै कायमै रहेको सेती प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार विभाग प्रमुख डक्टर शेरबहादुर कमरले बताए । सुदूरपश्चिम प्रदेश सरकार भने संक्रमण दर काम हुँदै गएको दावी गर्दै आएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले दर न्यून भएको दावी गरे । प्रदेश सरकार भारतबाट फर्किएकाको सीमा क्षेत्र र समुदाय स्तरमा समेत कोरोना परीक्षणको तयारीमा रहेको उनले जानकारी दिए ।