सुदुरपश्चिममा यस वर्ष समयमै रोपाइँ भएकाले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । सुदुरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले करित्र ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी जिल्लाहरुबाट आएको बताए । “आकाशे पानी र सिँचाईको सुविधा विस्तार भएकोले समयमा रोपाइँ हुँदा यसवर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको छ”, उनले भने, “यस वर्ष असारमै रोपाइँ सकिने भएको छ ।” उनका अनुसार जिल्लाहरुबाट प्राप्त तथ्यांक आईतबारसम्मको हो । दुई दिनमा थप दुई प्रतिशतको हारहारीमा रोपाई भएको छ ।
विगतका वर्षमा साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भए पनि यस वर्ष असारको अन्तिमसम्म अधिकांश रोपाइँ सकिएको छ । किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गरेका छन् । खजुरा गाउँपालिका–२ का अगुवा कृषक अर्जुन उप्रेतीले यस वर्ष आकाशे पानी परिरहेका कारण बेलैमा रोपाइँ सकिएको बताए । समयमै मनसुय भित्रिएपछि असारको अन्तिमसम्म ९२ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको हो । सुदुरपश्चिमको ९ जिल्लामा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । हालसम्म एक लाख ६२ हजार दुई सय ३० हेक्टर अर्थात ९१.५३ प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ ।
‘अघिल्लो बर्षको साउन मसान्तसम्म हुने रोपाई यसपाली असारमै भएको हो । अघिल्लो बर्षको साउन मसान्तसम्म ९६ प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको थियो । यसपाली समयमै पानी परेपछि किसानहरुलाई राहत भएको छ । आकासे पानीको भरमा रोपाई हुने अधिकांश ठाउँहरुमा पनि रोपाई भएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए । सुदुरपश्चिम प्रदेशका ९ जिल्लामध्ये सवैभन्दा कम रोपाई भने डोटीमा भएको छ । अहिलेसम्म सवैभन्दा कम रोपाई बाजुरामा र सवैभन्दा बढी रोपाई कञ्चनपुरमा भएको छ । असार १५ गतेसम्म भने सबैभन्दा वढी रोपाई भने पहाडी जिल्ला अछाममा भएको थियो ।
धानका लागि उर्वरभुमी मानिने कैलाली र कञ्चनपुरमा करिब पुरै क्षेत्रफलमा रोपाई सकिएको छ । असारको पहिलो साता कञ्चनपुरमा सवैभन्दा कम १५ प्रतिशत मात्रै रोपाई भएको थियो भने कैलालीमा १७ प्रतिशत रोपाई भएको गरिएको थियो । अछाममा १६ हजार पाँच सय ८० हेक्टरमा धान रोपाई गरिदै आएकोमा १४ हजार ९३ हेक्टर (८५ प्रतिशत) मा रोपाई भएको छ भने डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धान रोपाई हँुदै आएकोमा आठ हजार नौ सय ३६ हेक्टर (८२ प्रशित) मा रोपाइ भएको छ । धानबालीको अन्न भण्डार मानिएको कैलालीमा अहिलेसम्म ९३ दशमलब ५ प्रतिशत र कञ्चनपुरमा ९६ दशमलब ५ प्रतिशतमा धान रोपाइ भएको छ । कैलालीमा ७१ हजार सात सय १५ हेक्टरमा धान रोपाइ हुदै आएकोमा ६७ हजार ५३ हेक्टरमा रोपाइ भएको छ भने कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुदै आएकोमा ४६ हजार छ सय ८१ हेक्टरमा रोपाइ भएको सुदुरपश्चिम सरकारको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको तथ्यांक अनुसार डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टरमा धान रोपाई हुदै आएकोमा पाँच हजार ६ सय तीन –९० प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाई हुँदा दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा रोपाई हुदै आएकोमा तीन हजार नौ सय ४२ (८८प्रतिशत) हेक्टरमा रोपाई भएको छ । मन्त्रालयका अनुसार प्रदेशको बाजुरामा ८०, बझाङमा ८५ र बैतडीमा ९० प्रतिशतमा रोपाई भईसकेको छ । बाजुरामा सात हजार दुई २० हेक्टरमा धान रोपाई हुदै आएकोमा पाँच हजार सात सय ७६ हेक्टरमा रोपाई भईसकेको छ । बझाङमा सात हजार एक सय १० हेक्टरमा धान रोपाई हुदै आएकोमा ६ हजार ४३ हेक्टरमा रोपाई भइसकेको छ भने बैतडीमा नौ हजार हेक्टरमा धान रोपाई हुदै आएकोमा आठ हजार एक सय हेक्टरमा रोपाई भइसकेको छ । यसपाली मनसुन चाडो भित्रिएका कारण रोपाई पनि चाडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ ।
धानखेतीलाई कुनै असर नपरेमा विगतका बर्षभन्दा यसपाली उत्पादन बढ्ने निर्देशक जोशीको भनाई छ । यसपाली समयमै रोपाई सकिएको छ । यसले उत्पादन बढ्छ । तर, यसपछि के हुन्छ भन्न सकिदैन’ उनले भने– अघिल्लो बर्षभन्दा पहिले नै धेरै रोपाई भईसकेको छ । यो कृषि क्षेत्रका लागि सकारात्मक हो । यसले उत्पादनमा वृद्धि गराउन मदत मिल्छ ।’