सुदूरपश्चिममा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९५६ पुग्यो
2020/07/14, 6:25
 
corona

सुदूरपश्चिममा थप २० जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा १२, धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सात र शिक्षण अस्पतालको प्रयोगशालामा एक गरी २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आज अछाम जिल्लाका १२ जनामा कोरोना पुष्टि भएको छ । शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कैलालीका एक जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । 

यता सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढीमा गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको छ । कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ५ का ७४ बर्षीय पुरुष, गौरीगंगा नगरपालिका वडा नम्वर ४ का ४० बर्षीया महिला, लम्की चुहा नगरपालिका वडा नम्वर ५ का ४० बर्षीया महिलामा कोरोना पुष्टि भएको उनले बताए ।

उनका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ कञ्चनपुरका २२ बर्षीय युवक र अछामको साँफेवगर नगरपालिका वडा नम्वर ११ का २३ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८० जनाको कोरोना परीक्षण गरिएको उनले जानकारी दिए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नौँ सय ५६ पुगेको छ । संक्रमण पुष्टि भएका एक हजार पाँच सय १३ जना डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।