एकै स्थानीय तहका ११ सहित सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि
2020/07/15, 3:26
 
corona

सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो । त्यसमा सात जना महिला र १२ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार सवैभन्दा वढी कञ्चनपुरको वेतकोट नगरपालिकाका ११ जना रहेका छन् । त्यसमा एक महिना सहित १० पुरुष रहेका छन् । त्यसैगरी कैलालीको टीकापुरका एकै वडाका चार जना महिलामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु सवै जना टीकापुर वडा नम्बर १ का वासिन्दा हुन् । 

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका दुई सय ३६ नमुनामध्ये अछामको चौरपाटीका दुई जना महिला र साफेवगरका दुई जना पुरुष रहेका छन् । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नौ सय ७५ पुगेको छ । हालसम्म यो प्रदेशमा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ ।