सुदूरपश्चिम घर भएका डिएसपीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली
2020/07/15, 3:34
 
dsp

नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक(डिएसपी) रमेशबहादुर सिंहको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलासा भएको छ । उनले जिल्ला प्रशासन कार्यालय बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्चाई झुठ्ठा विवरण उल्लेख गरेर सरकारी लाभ सुविधा लिएको खुलेको हो । 

नागरिकतामा उनले उमेर सच्याएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । उनले २०३२–१०–१२ जन्म मिति राखेर बझाङबाट नागरिकता बनाएका थिए । २०५८ सालमा प्रहरीको ईन्सपेक्टर खुल्दा उनी २६ वर्ष पुगिसकेका थिए । त्यसपछि नागरिकता हराएको बहानामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले प्रतिलिपि लिए । जसमा जन्म मिति २०३३–१०–१२ बनाइएको थियो । सोही नागरिकताका आधारमा शैक्षिक प्रमाणपत्रहरुमा समेत जन्ममिति सच्याइएको थियो ।

सिंह विरुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।