सुदूरपश्चिमका सबै जिल्लाहरुमा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना
2020/07/16, 11:15
 
krishi

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना गरिएका छन । प्रदेश सरकारको मन्त्री परिषद्को बैठकको निर्णय अनुसार ९ वटै जिल्लामा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानको सहजताका लागि सबै जिल्लामा विज्ञ केन्द्र र ज्ञान केन्द्र स्थापना गर्दै सेवा सञ्चालनमा ल्याईएको जनाएको छ । कृषि मन्त्री विनितादेवी चौधरीले किसानलाई घर दैलोमा सेवा उपलब्ध गराउने उद्देश्य अनुसार सेवा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको बताईन ।

यसअघि कञ्चनपुर, डडेल्धुरा, बैतडी, बाजुरा र बझाङ गरी प्रदेशका पाँच जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएका थिए । सरकारले कैलाली, डोटी, अछाम र दार्चुलामा नयाँ भेटेरीगरी विज्ञ केन्द्र नयाँ स्थापना गरेको हो ।

कञ्चनपुर, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम र बझाङमा कृषि ज्ञान केन्द्रहरु स्थापना भएका थिए भने विहीवारदेखि कैलाली, डोटी र दार्चुलामा केन्द्र स्थापना गरिएको मन्त्रालयले जनाएको छ। तत्काल मन्त्रालयकै कर्मचारीबाट विज्ञ केन्द्र र ज्ञान केन्द्र व्यवस्थापन गरी सेवा प्रदान गरिने भएको छ ।