सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार पुग्यो, थप भयो २२ जनामा कोरोना पुष्टि
2020/07/16, 6:27
 
corona

सुदूरपश्चिम प्रदेशमा आज थप २२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ८ गरी २२ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा प्रयोगशालामा गरीएको परीक्षणमा डडेल्धुराकै ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । 

यता सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । ८ पुरुष र ६ महिला सहित १४ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । कैलालीको कैलारी गाउँपालिका–४ का दुई महिला र दुई पुुरुष गरी ४ जना, कैलालीकै गोदावरी नगरपालिका दुई पुरुष र एक महिला गरी ३ जना, कैलालीकै धनगढी उपमहानगरपालिका–१८ का एक पुरुष र एक महिला गरी २ जना, कैलालीकै टिकापुर नगरपालिका–१ का एक पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । 

कञ्चनपुरको बेलकोट नगरपालिका एक महिला र एक पुरुष गरी दुई जना, कञ्चनपुरकै भिमदत्त नगरपालिका–४ का एक पुरुष र बझाङको खप्तड छान्ना गाउँपालिका–६ एक महिलामा कोरोना पुष्टि भएको उनले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा एक सय ६९ जनाको कोरोना परीक्षण भएको छ ।

२२ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढि कैलालीमा नौँ सय ४१, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ७८, कञ्चनपुरमा चार सय ६२, डडेल्धुरामा दुई सय ९२, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७० र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये एक हजार ६ सय १५ जना डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।