सुदूरपश्चिमका १६५९ संक्रमित डिस्चार्ज, ४९ जना अस्पतालमा २३ सय बढी उपचारमा
2020/07/17, 6:54
 
corona

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट एक हजार ६ सय ५९ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा बिहीवार साँझ एक हजार ६ सय ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार बिहीवार मात्रै अछामका ४५, कैलालीको टीकापुर अस्पतालबाट ८ जना र कञ्चनपुरबाट चार जना गरी ५७ जनालाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कञ्चनपुरका तीन सय ९०, अछामका तीन सय ६२, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको छ । डोटीका एक सय ५७, कैलालीका एक सय २९, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । 

यस्तै सुदूरपश्चिम प्रदेशका ४९ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी दुई हजार दुई सय बढीको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ । मन्त्रालयका अनुसार महाकाली अस्पतालमा १८, टीकापुर अस्पतालमा १३, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पताल र सेती अस्पताल तीन÷तीन तथा र डोटी अस्पतालमा दुई जना गरी ४९ जनाको उपचार भईरहेको छ । सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार पुगेको छ ।