सुदूरपश्चिममा बढ्दो लापरबाहीः भारतबाट आउनेलाई सिधै घर पठाउँदा समुदायमा कोरोना फैलिने खतरा
2020/07/17, 8:21
 
sima

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ४ हजारको हाराहारी पुगेको छ । १४ चैत्रमा पहिलो पटक सुदूरपश्चिममा एक जनामा संक्रमण देखिएकोमा ४ महिनाको अवधिमा संक्रमितको संख्या ४ हजारको हाराहारीमा पुगेको छ । प्रदेशका पछिल्लो समय परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढेको हो । 

भारतबाट आउने क्रम जारी 
कैलालीको त्रिनगर नाका हुँदै भारतबाट दैनिक ७ सयको हाराहारीमा नागरिकहरू आइरहेका छन् । केही दिन अघि १ डेढ सयको हाराहारीमा मात्रै नागरिक आइरहेकोमा यो क्रम क्रमशःबढ्दै गइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।  त्रिनगर नाकाबाट मात्रै हैन प्रदेशका अन्य नाका गड्डाचौकी, धार्चुला र झुलाघाट नाकाबाट पनि दैनिक जसो नेपालीहरु स्वदेश फर्किरहेका छन् । भारतबाट लकडाउन अवधिमै करिब २ लाखको हाराहारीमा नागरिक सुदूरपश्चिम प्रदेश हुँदै नेपाल भित्रिएका थिए । 

समुदायमा संक्रमण फैलिने खतरा 
सुदूरपश्चिममाका क्वारेन्टिनमा रहेका नागरिकहरूलाई धमाधम घर पठाउन थालिएको छ । १४ दिन क्वारेन्टिनको अवधि तोकिएको भए पनि स्वास्थ्य परीक्षण बिनै ७÷८ दिनको अवधिमै नागरिकहरूलाई घर पठाइँदै छ । क्वारेन्टिन खाली बनाएर अब आउने नागरिकहरूलाई सिधै घर पठाउने तयारीमा स्थानीय तहहरु छन् । जसले गर्दा कोरोनाको संक्रमण भयावह बन्ने खतरा बढेको छ । धनगढी उपमहानगरपालिकाले मात्रै हैन प्रदेशका सबैजसो स्थानीय तहहरुले क्वारेन्टिन खाली गर्न थालेका छन् । प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले क्वारेन्टिन खाली गर्ने विषयमा आफूहरूसँगै कुनै सल्लाह नभएको बताए । 

अब भारत वा अन्य देशबाट आउने स्थानीयहरूलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टिनमा राख्न उनले आग्रह गरे । संक्रमण दर घट्दै गइरहेको अवस्थामा स्थानीयह तहरुमा भइरहेको यो लापरबाहीले ठूलो जोखिम निम्ताउन सक्ने खतरा बढाएको छ । उनले भने, ‘भारतबाट नागरिक आउने क्रम क्रमशः बढ्दै गइरहेको अवस्थामा स्थानीय तहहरुले चाल्न लागेको यो कदम उचित छैन, यसले निम्त्याउने जोखिमको भागेदार को हुन् ?’ उनले थपे, ‘अब क्वारेन्टाइनमा नबसाउनु भनेको जोखिम फैलाइनु हो । यस्तो काम कसैबाट हुनु हुँदैन । प्रदेशका ८८ वटै स्थानीय तहहरुले सम्बन्धित क्वारेन्टिनमा नागरिकहरूलाई मापदण्ड अनुसार राख्नु पर्दछ ।’