सुदुरपश्चिममा असारमा १८७१४ जनाको कोरोना परिक्षणः ३७१७ जनामा कोरोना पुष्टि 
2020/07/17, 11:46
 
corona

सुदुरपश्चिममा असारमा १८ हजार ७ सय १४ जनाको कोरोना परिक्षण भएको छ । जेठमा नमुना संकलन गरिएका जोडेर गरिएको कोरोना परिक्षणमा तीन हजा सात सय १७ जनामा कोरोना पुष्टि भएको छ । १७ हजार पाँच सय ७४ जनाको स्वाब असार महिनामा संकलन भएकोमा जेठको समेत गरी १८ हजार ७ सय १४ जनाको कोरोना परिक्षण भएको थियो । सुदूरपश्चिम प्रदेशबाट पाँच महिनाको अवधिमा संकलन गरिएका २८ हजार बढी स्वाबको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेशमा पहिलो पटक फागुन १ गते कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएकोमा पाँच महिनाको अवधिमा २८ हजार २२ जनाको कोरोना परिक्षण गरिएको हो । धनगढी प्रयोगशाला, डडेल्धुरा प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शिक्षण अस्पताल, पाटन अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा रहेका प्रयोगशाला मार्फत सुदूरपश्चिमबाट संकलन गरिएका स्वाबको नमुना परिक्षण गरिएको हो । स्वाब संकलन सुरु भएको एक महिना १४ दिनसम्म प्रदेशमा कसैमा पनि संक्रमण पुष्टि नभएकोमा पहिलो पटक चैत १४ गते धनगढी उप–महनागरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि फागुन र चैत महिनामा  सुदूरपश्चिमबाट कोरोना परीक्षणका लागि दुई हजार एक सय ७९ जनाको स्वाब संकलन भएको थियो भने चैत मसान्तसम्म ६ सय २९ जनाको मात्रै परीक्षण भएको थियो । ६ सय २९ जनाको कोरोना परीक्षण हुँदा चार जनामा संक्रमण पुष्टि भएको थियो । 

चैत महिनाको तुलनामा सुदूरपश्चिममा २०७७ बैशाखमा स्वाब संकलनको क्रम घट्यो तर चैतमै संकलन गरिएका स्वाबको समेत परीक्षण भएकाले परीक्षण भने बढ्यो । बैशाख महिनामा एक हजार एक सयको स्वाब संकलन गरिएकोमा चैत महिनाका समेत स्वाब गरी दुई हजार चार सय ७० जनाको कोरोना परीक्षण भएकोमा थप एक जनामा कोरोना पुष्टि भएको थियो । जेठ महिनामा सात हजार ६ सय ३४ जनाको स्वाब संकलन भएकोमा ५ हजार ७ सय ९१ जनाको कोरोना परीक्षण हुँदा दुई सय ५६ जना संक्रमित थपिए ।

बैशाख र जेठ महिनामा धनगढी प्रयोगशाला मार्फत मात्रै कोरोना परीक्षण भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए । जेठको सुरुवातदेखि नै भारतबाट फर्किनेहरुका लागि गौरीफन्टा र गड्डाचौकी नाका खोलिएपछि दैनिक रुपमा हजारौँ प्रदेशवासी सुदूरपश्चिम फर्किन थालेका कारण शंकास्पद विरामीको संख्या निकै बढ्दा सुदूरपश्चिममा संकलन गरिएका स्वाब परीक्षणका गर्न प्रदेश बाहिरका प्रयोगशालामा पनि स्वाब पठाएको जानकारी दिए । मासिक तथ्याङकमा स्वाब संकलन, परीक्षण र संक्रमण दर बढ्दै गएको देखिएको छ तर पछिल्लो केही दिन यता परीक्षण घट्दै गएको छ । कोरोना परीक्षणका लागि स्वाब संकलन थालिएको पाँच महिना पुगे पनि अहिलेसम्म समुदाय स्तरमै परिक्षण हुन नसकेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले स्विकारे ।