भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरू सुदूरपश्चिम फर्कने क्रम अझै रोकिएको छैन । सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकीमा भारतबाट फर्कने क्रम जारी छ । प्रत्येक दिन यि दुई नाकामा सयौं नेपाल भित्रिने गरेका छन् । भारतमा कोरोनाको संक्रमण फैलिएसँगै फागुनको अन्तिम सातादेखि भारतबाट फर्कनेको सिमामा भिड लाग्न थालेको हो । सरकारले लकडाउन सँगै चैत ११ गतेदखि सिमा बन्द गर्यो । सिमा बन्द हुदाँ पनि त्यस अवधिमा महाकाली नदी तरेर, जंगलको बाटो भएर सयौ जना नेपाली सुदूरपश्चिम प्रवेश गरे । लकडाउनले काम बन्द भएपछि वस्ने ठाउँ समेत नपाएर अलपत्र परेका पैदल हिडेरै सिमासम्म आईपुगेकाले भारततिर नै क्वारेन्टिनमा राखियो ।
कैलालीको सिमापारी भारतको पलिया, कंचनपुरको बनवासा, खटिमा र दार्चुलाको पारी धार्चुला र बैतडीको सिमा पारी देहरादुन लगायतका ठाउँमा ३ हजार बढी नेपाली करिव एक महिनासम्म क्वारेन्टिनमा वसे । उनीहरूलाई बैशाख माहिनाको अन्तिम तिर र जेठको पहिलो साता प्रवेश गराइयो । औपचारिक रुपमा निर्णय गरेर सिमा नाका खुला नगरेपनि जेठ ७ गतेदेखि सुदूरपश्चिमका दुई ठूला नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकि नाकाबाट प्रवेश खुला गरियो । प्रवेश नाका खुला सँगै यि दुई नाकामा दिनहुँ भारतबाट फर्कनेहरूको भिड लाग्यो । जेठ महिनामा मात्र १ लाख भन्दा बढी प्रवेश गरेका छन । त्यस यता पनि भारतबाट आउने क्रम रोकिएन ।
भारतबाट घर फर्कनेको संख्या पातलिदै गएकोमा पछिल्लो साता अझ सिमामा घर फर्कनेको भिड बढेको छ । एक सातामा मात्र कैलालीको त्रिनगर नाकाबाट मात्र ६ हजार बढी प्रवेश गरेको कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले बताए । होटल, उद्योग, व्यवसाय, कम्पनी लगायतका काम गर्ने बन्द भएपछि त्याहाँ काम गर्नेहरू यस अघि नै घर फर्केका हुन । लिम्पियाधुरा सहितको भुभाग समेटेको नक्सा पास गरेपछिका दिनमा नेपाल र भारत बिचको सम्वन्धमा चिसो बढ्दै अहिले त्यहाँ रहेका अन्य नेपाली पनि फर्कने क्रम बढेको हो ।
‘सिमानाको विवाद बढ्दै गएकोले हामी प्रति व्यवहार पनि फरक गर्न थाले, त्यसैले हामीहरू घर आयौ’ भारतबाट फर्केका डोटीका आदर्श गाउँपालिका वडा नम्वर ६ का तेजराज ओझाले भने । पहिले काम गरेको सेलरी नियमित दिन्थे, अहिले सेलरी पनि नियमित दिन छोडेको र व्यवहार पनि नराम्रो गर्न थालेको उनले बताए । पछिल्लो दिनमा अपमानित किसिमको व्यवहार गर्न थालेको भारतबाट घर फर्केका बताउँछन । अस्पतालमा समेत नेपालीहरूलाई उपचारमा अलग व्यवहार गर्ने गरेकोले पनि उनीहरू घर आएको बताउँछन । रुघाखोकी अथवा कुनै समस्या भएर अस्पतालमा जाँदा पनि अस्पतालले गर्ने व्यवहारले पनि समस्या हुने गरेको उनीहरू बताउँछन ।
यहाँ नेपालीलाई गर्ने व्यवहार पनि अपमानजनक हुने गरेको उनीहरू बताउँछन् । ‘कोरोनाको त्रास त छदै थियो, भारतमा नेपालीहरूलाई हेप्ने, अलग व्यवहार गर्न शुरु गरेकाले हामीलाई उता वस्ने मन लागेन’ उनले भने, ‘अझै धेरैजना घर आउने तयारीमा छन ।’ डोटी आदर्श गाउँपालिका वडा नम्बर ६ मा मात्र दुई दिनमा दुई सय भन्दा बढी जना आफ्नो वडाको भारतबाट फर्केको वडा अध्यक्ष लालबहादुर खडायतले बताए । ‘सिमानाको विवाद बढ्दै गएपछि त्यहाँ समस्या हुने देखेर भारतमा बाँकी रहेका नेपालीहरू पनि घर फर्कन थालेका छन्,’उनले भने । कोरोनाको संक्रमण फैलिएपछि भारतबाट करिब ३ लाख जना सुदूरपश्चिममा फर्किसकेका छन् । भारतबाट अझै कति नेपाली घर फर्कने हुन भन्ने एकिन छैन ।
सुदूरपश्चिमका भारतमा रोजगारीका शिलशिलामा कति जना गएका छन भन्ने एकिन तथ्यांक छैन । सुदरपश्चिमबाट देशभरीमै सवैभन्दा बढी भारतमा मजदुरी गर्न जाने गरेका छन । भारतको मुम्मई, दिल्ली, उत्तरप्रदेश, उत्तराखण्ड, पंजाव लगायतका सबै ठाउँमा नेपालीहरू मजदुरी गर्न जाने गरेका छन् । बुबा बाजेकै पालादेखि रोजगारीका लागी सुदूरपश्चिमका युवाहरूको गन्तव्य भारतीय ठाउँ (कालापाहाड, मुग्लान) हरू नै हुन् । एक अध्ययनका अनुसार सुदूरपश्चिमका ८० प्रतिशत घरधुरीको परिवारको एक जना भारत गएका छन ।
यसरी हेर्दा करिब ७ लाख बढी भारतमा मजदुरी गर्न जाने गरेको पाईन्छ । सुदूरपश्चिममा उब्जनीले वर्षभरी खान नपुग्ने र अन्य आयश्रोतको उपाय नभएकाले परिवार पाल्नकै लागी भारतका बिभिन्न शहरमा सस्तोमा श्रम बेच्ने गरेका छन । कतिपय खेतीपाती लगाई सकेपछि ५, ६ महिनाका लागी मात्र भारत जाने भएकाले र फागुन देखि यता ३ लाख घर फर्किसकेकाले अव करिब २ देखि अढाई लाख भारतमा हुन सक्ने नागरिक समाजका अगुवा धर्मराज पाठक बताउँछन् । भारतबाट फर्केकाहरूलाई स्थानीय तहले सिमाबाट गाडीको व्यवस्था गरेर गाउँमा लगेर क्वारेन्टिनमा राखेको छ । गाउँ नजिकै क्वारेन्टिन मा राखेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुृसार सुदूरपश्चिममा ६ हजार ८ सय ३ जना क्वारेन्टिनमा रहेका छन । भारतबाट फर्कने क्रम नरोकिएकाले सुदूरपश्चिममा कोरोना संक्रमणको उच्च जोखिम कायमै रहेको छ । सुदूरपश्चिममा संक्रमण फेला परेको मध्य अधिकाशं भारतबाट फर्केकोहरू नै छन ।