राखेप सदस्य सचिवका लागि सुदूरपश्चिमबाट दुई जनाको आवेदन
2020/07/18, 4:31
 
rakhap

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सदस्य सचिव पदका लागि २७ जनाले आवेदन दिएकोमा त्यसमा सुदुरपश्चिमका दुई जना रहेका छन् । आवेदन दिनेमा तीन महिला र २४ पुरुष रहेका छन् । नयाँ खेलकूद ऐन २०७७ आएपछि पहिलो पटक सदस्य सचिवको चयन दरखास्त आह्वान मार्फत हुन लागेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । सो समितिले एक साताका लागि समय दिएर दरखास्त आह्वान गरेको थियो । 

निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालले पनि सदस्य सचिवका लागि आवेदन दिएका छन् । सिलवालले अन्तिमम समयमा आएर बुधबार निवेदन दर्ता गराएका थिए । सुदूरपश्चिम प्रदेशबाट दुई जनाले आवेदन दिएका छन् । डडेल्धुराका शिवराज भट्ट र बाजुराका खेमराज अधिकारीले सदस्य सचिवका लागि निवेदन दिएका हुन । 

यस्तै अन्य काठमाडौंका रविराज कर्णिकार, अचुतम लामिछाने, रामेश्वर श्रेष्ठ, सानुराजा केसी, किशोर शाही, रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, राम पुडासैनी र रणबहादुर चन्द, ललितपुरका रोशन महर्जन, निलमसिंह बज्राचार्य, अच्युत खनाल, अन्जु श्रेष्ठ, सुदिल शाही र सुनिल नकर्मी, पोखराका मनबहादुर गुरुङ र तेजबहादुर गुरुङ, मोरङ्गका विजयकुमार राई, मकवानपुरका दिपेन्द्र ढकाल, चितवनका अनिल अधिकारी, सोलुखुम्बुका हर्कबहादुर राई, सुनसरीकी मिना श्रेष्ठ, डडेल्धुराका शिवराज भट्ट, बाग्लुङ्गका लिलबहादुर थापा, धादिङ्गका रमेशकुमार सिलवाल तथा झापाका मेघराज पौडेले सदस्य सचिवका लागि निवेदन दिएको युवा तथा खेलकूद मन्त्रालयका उपसचिव गणेश पौडेलले जानकारी दिए। 

आवेदन दिएकामध्येबाट सिफारिस समितिले एक महिलासहित तीन जनाको नाम मन्त्रालयलाई बुझाउने छ भने मन्त्रालयले मन्त्री परिषद्लाई सिफारिस गर्नेछ । मन्त्री परिषद बैठकले तीन जना मध्येबाट एक जनालाई नयाँ सदस्य सचिव नियुक्त गर्नेछ ।