नेकपा जिन्दावादको नारा लगाउँदै जनप्रतिनिधि द्धारा नै स्थानीय वासिन्दा विरुद्ध प्रदर्शन 
2020/07/18, 8:58
 
rajniti

बैतडीमा स्थानीय वासिन्दा विरुद्ध जनप्रतिनिधिहरुले विरोध प्रदर्शन गरेका छन् । पञ्चेश्वर गाउँपलिकाका जनप्रतिनिधि र नेकपाका कार्यकर्ताहरुले स्थानीय वासिन्दाहरुका विरुद्ध प्रदर्शन गरेका हुन् । स्थानीयले गाउँपालिका र वडा कार्यालयको गत आर्थिक वर्षको खर्च विवरण सार्वजनिक गर्न माग गरेका थिए । साथै उनीहरुले कोरोना महामारीका बीचमा राहत वितरण, क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य सामग्री खरिद लगायतमा गाउँपालिकाले गरेको खर्चको विवरण सार्वजनिक गर्न माग गरेका थिए । 

उनीहरुले खर्च विवरण सार्वजनिक गर्न माग गर्दै गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दलाई ज्ञापनपत्र बुझाउने सहितका कार्यक्रम राखेका थिए । तर, अध्यक्ष चन्दले ज्ञापनपत्र बुझ्न आनाकानी गरेको र खर्च विवरण सार्वजनिक गर्न नमिल्ने अडान राखेपछि स्थानीयले वडा नम्बर ४ को कार्यालयमा तालाबन्दी गरेका थिए । स्थानीयले तालाबन्दी गरेपछि गाउँपालिकाका जनप्रतिनिधिहरुले सयौंको संख्यामा पार्टी कार्यकर्तालाई बोलाएर स्थानीय वासिन्दाहरुका विरुद्ध प्रदर्शन गराएका हुन् । उनीहरुले ‘नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद,  कार्यालयमा तालाबन्दी गर्न पाइँदैन, दलालहरु होसियार, केपी ओली जिन्दावाद’ लगायतका नाराहरु लगाएका थिए ।

यता स्थानीयले गाउँपालिकाले खर्च विवरण सार्वजनिक गर्नको सट्टा आसेपासेलाई बोलाएर माग गन स्थानीय वासिन्दालाहरुलाई थर्काएको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष चन्दले पार्टी कार्यकर्ताहरुलाई खसी भात र मदिरा खुवाएर बिहीबार लगाइएको ताला समेत टुटाएको स्थानीय प्रकाश चन्दले आरोप लगाए । उनले दुई दिन पहिले नै नागरिक भेला बस्ने भन्दै वडा कार्यालयलाई जानकारी गराउँदा बिहीबार वडा कार्यालयमा कोही पनि जनप्रतिनिधि नआएपछि आफुहरुले वडा कार्यालयमा तालाबन्दी गरेको बताए । उनले भने ‘हामीले तीन चार दिनदेखि नै खर्च विवरण सार्वजनिक गर्न माग गर्दै ज्ञापनपत्र बुझाउने भनेर पटक पटक जानकारी गराईरह्यौँ । बिहिबार आम नागरिक भेला हुने भन्दा, सो दिन साँझसम्म कोही पनि जनप्रतिनिधि कार्यालयमा उपस्थित नभएपछि ताला लगाएर फर्कियौँ ।’ 

उता गाउँपालिकाकी उपाध्यक्ष विना भट्टले भने विज्ञप्तीको बारेमा आफुहरुलाई जानकारी नभएको र सो विज्ञप्ती आफुहरुलाई नदिएको बताएकी छन । उनले वडा कार्यालयका अध्यक्ष राजबहादुर चन्दको निधन भएपछि सो कार्यालयमा आफुहरुलाई काम गर्न असहज भईरहेको बताइन् । कांग्रेस निकटका कार्यकर्ताहरुले आफुहरुलाई काम गर्न नदिरहेको उनको आरोप छ । उनले भोजको विषयमा पार्टीले कार्यक्रम राखेकोले त्यो भोज भतेर नभई टाढाबाट आएका मान्छेहरुलाई खाना खुवाएको बताइन् । यस विषयमा गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दसँग बुझन खोज्दा सम्पर्क हुन सकेन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तत्कालीन एमालेबाट निर्वाचित भएका हुन ।