सीमा बन्दको फाईदाः सीमावर्ती बजार सुक्दा धनगढी फस्टायो
2020/07/19, 8:57
 
kinmel

नेपाल–भारत सीमावर्ती वनगाउँ बजार सुनसान छ । कोरोना भाइरस महामारीपछि नेपाली उपभोक्ताको उपस्थिति नभएपछि वनगाउँ बजारमा चहलपहल घटेको हो । धनगढीबाट तीन किलोमिटर दूरीमा रहेको यो बजारका अधिकांश उपभोक्ता नेपालबाटै जाने गर्थे । कोरोना महामारीपछि सीमा क्षेत्र सिल भएसँगै भारतीय बजारमा नेपाली उपभोक्ता देखिन छाडेका छन ।

नुन, तेल, चिनी, तरकारी लगायत घरायसी प्रयोजनका लागि आवश्यक सामान किन्न यहँका नागरिकहरु भारतीय बजार जाने गर्थे । तर अहिले अवस्था त्यस्तो छैन । कोरोना महामारीले भारतीय बजारमा जाने अवस्थाको अन्त्य भएको छ । धनगढी उपमहानगरपालिका–३ का काशीराम चौधरी भन्छन्–‘सीमा सिल भएपछि नेपालीले वनगाउँ जान पाएनन्, धनगढी बजारको सामान चिन्ने अवसर मिलेको छ, नेपाली उपभोक्ता र व्यापारीलाई यो फाइदाको कुरा हो ।’

धनगढीकै स्थानीय हीरालाल भट्ट लकडाउन अघि घरायसी समान किन्न भारतीय बजार जाने गर्थे । उनी भन्छन्–‘अब त धनगढीमै किन्ने हो ।’ कोरोना महामारीले स्वदेशी उत्पादनलाई माया गर्न सिकाएको उनको अनुभव छ । सशस्त्र प्रहरी कैलालीका एसपी कमल तिमिल्सिनाका अनुसार सीमावर्ती बजारमा नेपालीलाई प्रवेशमा पूर्ण रोक छ । आपतकालीन अवस्थाका बिरामीलाई मात्र विशेष अनुरोधमा पठाउने गरेको उनले बताए ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले पनि सीमा बन्द भएप्छि धनगढी बजार फस्टाएको बताए । ‘भारतीय बजारमा भन्दा धनगढीमा सस्तो पाईन्छ । भारतीय उत्पादनभन्दा गुणस्तरीय वस्तु हामी कहाँ छन् ।’ उनले भने–‘कोरोना महामारीपछि भारतीय सीमा बन्द हुँदा भारतमा खर्च हुने पैसा स्वदेशमै खर्च भएको छ ।’