बर्खे खेतीको मैझारोमा किसान
2020/07/20, 6:59
 
dhan ropai

सुदूरपश्चिमका किसान यतिबेला मैझारो मनाउँदै रमाउन थालेका छन् । समय अगावै पानी पर्दा रोपाइँ सुरु गरेका किसान यतिबेला यसपालिको अन्तिम रोपाइँ (मैझारी) मा व्यस्त छन् । साउन पहिलो सातामा अहिले सुदूरपश्चिमका केही भागमा किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई छ । रासायनिक मलको जोहो गर्दै किसान मैझारीमा व्यस्त भएका हुन् ।  

कैलालीको चुरे क्षेत्रका केही भिरालो जमिन र तराईका बलौटे खेतहरुमा अहिले पनि रोपाइँ भइरहेको छ । ‘सिँचाइका लागि पानी उपलब्ध हुन नसक्दा ढिलोगरी रोपाइँ सुरु ग¥यौँ,’ चुरे गाउँपालिकाका खड्क सिँजालीले भने, ‘भिरालो जमिनमा सिँचाइका लागि कुलो नहुँदा ढिलोगरी सुरु गरेको रोपाइँ भएकाले अहिले मैझारी मनाउन थालेका छौँ ।’ उनका अनुसार कैलालीको पहाडी गाउँपालिकाका अधिकांश भिरालो जमिनमा सिँचाइ अभावमा पाखे धान लगाइएको छ । ‘सिँचाइ सुविधा नहुँदा केही भेगमा किसानले रोपाइँका लागि अहिलेसम्म जमिन बाँझै राखेका छन्,’ उनले भने, ‘धान गोडमेल गर्ने समय भइसक्दा पनि रोपाइँ गर्न पाएका छैनौ ।’  

सिँचाइ अभावकै कारण साउनमा रोपाइँ गर्नुपरेको उनको गुनासो छ । कम पानी पर्नु र पर्याप्त सिँचाइ सुविधा नहुँदा कैलालीमा ५ प्रतिशत रोपाइँ हुन बाँकी रहेको प्रदेश कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए । उनका अनुसार साउन दोस्रो सातासम्म सुदूरपश्चिममा शत प्रतिशत रोपाइँ भइसक्छ । अहिलेसम्म सुदूरपश्चिममा ९५ दशमलव ३५ प्रतिशत रोपाइँ भइसकेको छ ।  कैलालीमा ९६ प्रतिशत, कञ्चनपुरमा ९८ प्रतिशत, अछाममा ९६ प्रतिशत, बाजुरामा ९०, बझाङमा ९५, बैतडीमा ९५, दार्चुलामा ९२, डडेल्धुरामा ९५ र डोटीमा ९२ प्रतिशत रोपाइँ सकिएको छ । ‘अहिले किसान यो वर्षको धान खेतीको अन्तिममा रोपाइँ गर्न थालेका छन्,’ उनले भने,‘किसान अन्तिम रोपाइँ गरेर मैझारी मनाउन थालेका हुन् ।’

रोपाइँको अन्तिम दिन किसानले मैझारी भन्दै रमाइलो गर्ने, मीठो मसिनो खाने बताउँदै अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका सुदूरपश्चिम संयोजक टंक कोइराला भन्छन्, ‘यतिबेला थारु गाउँमा ‘हर्दौवा’ र पहाडी समुदाय मैझारी भन्दै अन्तिम रोपाइँ गर्न थालेका छन् ।’ यहाँका किसान रोपाइँ सकेको दिन बेलुकी घरमा मीठो मसिनो पकाउने र नजिकैको खोला तथा नदीमा गएर हलो, गोरु गाडा तथा रोपाइँ गर्दा चाहिने कृषि यन्त्रलाई धोइ पखाली पूजा गर्ने गर्दछन् ।  

सुदूरपश्चिम प्रदेशमा १ लाख ८१ हजार ६ सय ४ हेक्टर क्षेत्रफलमा गरिने धान खेती मध्ये १ लाख ७३ हजार १ सय ५२ दशमलव ७ हेक्टर क्षेत्रफलमा धान रोपिइसकेको छ ।   अन्य वर्षमा ढिलोगरी मैझारी मनाउने किसान यस वर्ष भने असार नलाग्दै पानी परेका कारण धान रोपाइँ चाँडै भएकाले यतिबेला मैझारी मनाउन थालेको कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताए । उनले भने, ‘किसानले चाँडै बीउ राखेको र मनसुन चाँडै भित्रिएका कारण पनि रोपाइँ चाँडै गरेर मैझारी मनाउन थालेका हुन् ।’