यसअघि एथ्लेटिक बिल्बाओका टेल्मो जाराले ६ पटक सर्वाधिक गोलकर्ता बन्दै कीर्तिमान बनाएका थिए । अलाभेसविरुद्ध ५-० को जितमा मेस्सीले दुई गोल गर्दै जारी सिजन आफ्नो गोलसंख्या २५ पुर्याए ।
मेस्सीले ३३ खेल खेल्दै २१ असिस्ट पनि प्रदान गरेका छन् । एकै सिजनमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान पनि मेस्सीले आफ्नो नाम गरेका छन् । यसअघि बार्सिलोनाकै मिडफिल्डर जाभीले २००८-०९ सिजनमा २० असिस्ट दिएका थिए ।
मेस्सीको उत्कृष्ट प्रदर्शनका बाबजुद बार्सिलोना उपाधिबाट भने बन्चित हुन पुग्यो । कोरोना संक्रमणपछि लिगमा रियलले लगातार उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले अंक गुमाएको थियो । मेस्सीले व्यक्तिगत रुपमा उपाधि जित्नु खुसीको कुरा भएपनि टोलीलाई लिग उपाधि दिलाउन नसक्दा त्यसको महत्त्व खासै नहुने बताए ।
मेस्सीले लिगमा २५ गोल गर्दा दोस्रो स्थानमा भने रियल म्याड्रिडका करीम बेन्जेमा रहे । उनले २१ गोल गरे । तेस्रो स्थानमा भिल्लारियलका जेरार्ड मोरेनोले १८ गोल गरेका थिए । मेस्सीकै सहकर्मी लुइस सुआरेजले १६ गोल गर्दै सूचिको चौथो स्थानमा रहे ।
क्याटलान क्लबले अब लिगको पिडालाई च्याम्पियन्स लिग उपाधि जितेर बिर्साउने प्रयास गर्नेछ । बार्सिलोनाले राउन्ड अफ १६ को दोस्रो लेगमा नेपोलीसँग खेल्दैछ । अगस्ट ८ मा हुने खेलमा बार्सिलोनाले पहिलो लेगको १-१ को स्कोरलाई सुधार्नुपर्ने हुन्छ ।
मेस्सीले अब केहि विश्रामले टोलीलाई तयार हुन पर्याप्त समय पुग्ने अभिव्यक्ति दिए । ‘ हामीले अब केहि समय विश्राम पाउनेछौं । यसले हामीलाई मानसिक रुपमा शान्त हुन सहयोग गर्छ,’ उनले भने, ‘ हामीले पछिल्लो समय मैदानमा राम्रो खेल्न सकेका छैनौं । यो समय हामीले आत्मलोचना गरेर आफ्नो गल्ति सुधार्ने मौकाको रुपमा लिएका छौं ।”