विदेशमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक व्यवस्था गर्न संसदीय समितिको निर्देशन
2020/05/14, 7:19
 
student

विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपाल ल्याउन क्वारेन्टीन र आईसोलेसन सहित आवश्यक व्यवस्था गर्न संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । कोरोना भाईरस कोभिड १९ को समस्या र हुन सक्ने थप सम्भावित खतरा यसको रोकथाम, उपचार र नियन्त्रण गर्नका लागि व्यापक छलफल जरुरी रहने भन्दै बिहीबार बसेको समितिको बैठकले विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन एवं तयारी गर्न पनि निर्देशन दिएको छ ।  

'विदेशमा रहनु भएका मजदुर, विद्यार्थी र अन्य सबै नेपाली नागरिकलाई नेपाल ल्याउन क्वारेन्टीन र आईसोलेसन सहित आवश्यक व्यवस्था गर्ने र विदेशमै बस्न चाहनेहरुलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन एवं तयारी गर्नु पर्ने' समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

लकडाउनमा परी अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकलाई स्थानीय सरकार र सरोकारवालाहरुले सही तथ्याङ्क तयार पारी राहतको व्यवस्थापन गर्नु पर्ने पनि समितिको निर्देशन छ । निर्माणको चरणमा रहेको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्नु पर्ने भन्दै समितिले भारत र नेपालको सीमानमा अलपत्र परेका नागरिकलाई छिटो चेक जाँच गरी आआफ्नो घर पठाउने व्यवस्था गर्न पनि भनिएको छ ।

भाईरसको जोखिम बढेकोले परीक्षणको दायरा तिव्र बनाउनु पर्ने, स्वास्थ्य सामग्रीहरुको अभाव हुन नदिने, मास्क, न्यानिटाईजर जस्ता सामग्री सर्वसाधारणलाई पनि सर्वसुलभ ढंगले उपलब्ध हुने व्यवस्था मिलाउने र रोकथाम तथा नियन्त्रणमा खटिएकाहरुको मनोवल उच्च बनाउन आवश्यक रहेको समितिले ठहर गरेको छ ।

आवश्यक स्वास्थ्य सामग्री र जनशक्तिको व्यवस्थापन व्यापक बनाई आईसोलेसन वेड र भेण्टिलेटरहरुको थप व्यवस्था जोड दिन पनि समितिले निर्देशन दिएको छ । अन्य विरामीले खानु पर्ने औषधीको अभाव हुन नदिन निर्देशन दिदैं समितिले सक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ्लाई जोड दिन भनेको छ । भाईरसबाट प्रभावितको उपचार, रोकथाम र नियन्त्रणका लागि गरिएका काम सकारात्मक रहेको भन्दै समितिले सरकार, स्वास्थ्कर्मी र स्थानीय सरकारलाई धन्यवाद पनि दिएको छ ।