सुदूरपश्चिमका ५२ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म सुदुरपश्चिममा चार हजार ९५ जनामा कोरोना देखिएकोमा दुई हजार एक सय २९ जनालाई कोरोना निको भएको हो । नौ जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार एक सय २९ कोरोना संक्रमित डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।
उनका अनुसार सोमवार डोटी जिल्लाबाट तीन सय ७८ र अछाम जिल्लाका ७२ जना गरी चार सय ५० जनालाई घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी डोटीका पाँच सय ३५, अछामका चार सय ३६, कञ्चनपुरका तीन सय ९९, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको छ ।
कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका ५५ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार नौँ सय बढीको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ ।
मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन, डोटी अस्पतालमा दुई र सेती अस्पतालमा एक जना गरी ५५ जनाको उपचार भईरहेको छ । सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार ९५ पुगेको छ ।