कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदान संरक्षणको अभावमा गौचरणमा परिणत भएको छ । सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेपनि काम हुन नसक्दा यतिबेला मैदानमा गौचरणमा परिणत भएको हो । केन्द्रीय सरकार, प्रदेश सरकार र त्यहाँको स्थानीय तहले समेत अन्तर्राष्ट्रिय रंगशाला बनाउने भन्दै वर्षेनी बजेट विनियोजन गर्दै आए पनि काम भने अगाडी बढ्न सकेको छैन ।
सुरुवाती समयमा तीव्र गतिमा काम थालेको सो मैदानमा सरकारको सहयोगमा साढे २ करोड रुपैयाँ खर्च गरेर मैदान मिलाउने काम भएको थियो । त्यस्तै मैदानमा माटो राख्ने र घेरबार गर्ने कामसमेत भएको थियो । मैदानको पिच निर्माणका लागि मात्रै करिब १५ लाख खर्च भएको थियो । तर, त्यसपछि उत्पन्न भएको जग्गा विवादले संघीय सरकार, प्रदेश सरकार र उपमहानगरपालिकाले वार्षिक रुपमा छुट्याएको बजेट फ्रिज हुँदै गईरहेको छ ।
सार्वजनिक जग्गा भएकाले जग्गाको उपभोग अधिकार कसको हुने भन्ने विषयले ठूलो विवाद लिएपछि ‘ड्रिम फाप्ला’ अभियान सुस्ताएको थियो । फाप्ला क्रिकेट मैदानको जमिन केन्द्रीय सरकारको मातहतमा छ । त्यसलाई पछि प्रदेश वा स्थानीय सरकारले जग्गा उपभोगको अधिकार प्राप्त गर्ने प्रयास गरे पनि नसक्दा फाप्ला निर्माणको कार्य अझैसम्म नीति तथा कार्यक्रममा मात्रै सीमित रहेको छ ।
सो जमिन प्रदेश सरकारको मातहतमा राख्नका लागि एक वर्ष अघि सबै कागजात मिलाएर भूमिसुधार मन्त्रालयमा फाइल पु¥याएको थियो । “मन्त्रालयमा फाइल बुझाएको एक वर्षपछि अहिले केही काम भएको छ,” ‘ड्रिम फाप्ला’ का अभियन्ता प्रकाश खड्काले भने, “अब मन्त्रालयले पत्र प्रदेश सरकारलाई पठाउने भनेको छ । त्यसपछि पुनः प्रदेश सरकारबाट फाइल गृह मन्त्रालयमा बुझाउनु पर्नेछ । अझै कति समय लाग्छ भन्न सक्नके अवस्था छैन् । तर, आशा गरौ यो काम छिट्टै सकिनेछ ।”