धनगढीबाट तीन ट्याक्टर र काठ सहित पाँच जना पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ६ जालीबाट नौ गोलिया र एक सय २२ थान कडी सहित दुई जना तथा एक सय ९५ क्यूफिट सालको काठ सहित तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टका अनुसार बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ६ जालीका करन चौधरीको घर नजिक लुकाई राखिएको चिरान गरिएको नौ गोलिया र एक सय २२ थान कडी सहित ३७ वर्षिय करन चौधरी र वडा नम्बर १७ का २० वर्षिय सुरज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
गत सोमबार धनगढी उप–महानगरपालिका वडा नम्बर ७ देवरीयाबाट ३६ वर्षिय नरेश चौधरी, २८ वर्षिय बिनु चौधरी र ३१ वर्षिय बिरबहादुर चौधरीलाई कैलाली प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट एक सय ९५ दशमलव ८८ क्यूफिट काठ सहित तीन ट्याक्टर समेत नियन्त्रणमा लिइएको छ। से २ त ७२, से १ त ५३७३ र से २ त १८५३ नम्बरको ट्याक्टर प्रहरीले काठ सहित नियन्त्रणमा लिएको हो।
ट्याक्टर, काठ तथा उनीहरुलाई आवस्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ।