मेयरले दिए काग्रेंसका नगर सभापति विरुद्ध प्रहरीमा उजुरी 
2020/07/23, 8:50
 
pal

आफुमाथि बैठकमा दुव्यवहार गरेको भन्दै अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले नेपाली काँग्रेस अमरगढी नगर समितिका सभापति दानबहादुर पाल विरुद्ध प्रहरीमा उजुरी दिएका छन । डडेल्धुरा अस्पताल विकास समितिले आयोजना गरेको बैठकमा सहभागी नगर प्रमुख ओझाले सोही बैठकमा सहभागी सभापति पालले आफुमाथि गाली गलौच र दुब्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

दुबै पक्षलाई बोलाएर छलफलको प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा अस्पताल विकास समितिले मंगलबार अस्पताल रोडको आसपासमा रहेका घरधनीहरुसँग छलफल गर्न बैठक बोलाएको थियो ।बैठकमा नगरप्रमुख ओझाले अस्पताल रोड फराकिलो बनाउने सन्दर्भमा छलफल चलिरहेका बेला एकाएक अमरगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खेमराज पाठकको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिनुपर्ने प्रस्ताव राखेको र सो प्रस्तावमा आफुले आपत्ति जनाएको सभापति पालले बताए ।

उनले नगर प्रमुख ओझाले अमरगढी नगरपालिका कार्यपालिकाको लेटर प्याड प्रयोग गरेर आफु विरुद्ध उजुरी दिइएको बताए । नगर प्रमुख ओझा र काँग्रेस नगर सभापति पालबीच बैठकमा भनाभन भएको बैठकका सहभागीहरु बताउँछन । जिल्ला प्रहरी कार्यालयमा मंगलबार नै लिखित उजुरी दर्ता गरिएको भए पनि बुधबार दुबै पक्षलाई बोलाएर छलफल चलाउने प्रयास प्रहरीले गरेको हो । नगर प्रमुख ओझाको ब्यस्तताका कारण बुधबार दुबैपक्षबीच छलफल हुन नसकेको प्रहरीले जनाएको छ ।