धनगढीमा नमुना महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरको शुभारम्भ (फोटो कथा सहित)
2020/07/23, 1:15
 
corona

कोरोना भाइरसबाट संक्रमित गर्भवतीहरुका लागी नेपालमै पहिलो पटक धनगढीमा नमुना महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरको आजबाट शुभारम्भ गरिएको छ । धनगढी उपमहानगरपालिकाद्वारा संचालित होल्डिङ्ग सेन्टरको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी र नगर प्रमुख नृप बहादुर वडले संयुक्त रुपमा उदघाटन गरेका छन ।

उदघाटन गर्दै स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले अन्य समयको तुलनामा कोभिड १९ को बेला सबैभन्दा बढी समस्या गर्भवतीहरुलाई हुने भएकोले नमुना आइसोलेसन सेन्टरले धेरै सहयोग गर्ने बताए । 

धनगढी उपमहानगरपालिका १ स्थित बि पोलिटेक्निक ईन्स्टिच्युमा महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरमा कोरोना पोजिटिभ र ननपोजिटिभ गरि दुई प्रकारले ब्यबस्थापन गरिएको नगरप्रमुख वडले बताए ।

उनले महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरलाई सहयोग गर्ने सम्पुर्ण निकायलाई धन्यवाद दिए । उनले महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र ब्यबस्थापक सम्पुर्ण कर्मचारी महिला नै रहने बताए ।

के छ आइसोलेसनमा ब्यबस्था !
महिला होल्डिङ्ग सेन्टरमा कोरोना नलागेका गर्भवती महिलाहरूलाई छुट्टै बस्ने ब्यबस्थापन गरिएको छ । जहाँ १० बेड सहित खाना, बस्न लगायतका सम्पुर्ण स्वास्थ्य सेवा उपलब्ध रहेको छ ।

त्यस्तै महिला आइसोलेसनमा कोरोना लागेका तर लक्ष्यण नदेखिएका गर्भवतीहरुलाई छुट्टाछुट्टै बस्ने ब्यबस्था गरिएको छ । गर्भवतीलाई खाना, बस्न, अतिरिक्त पोषण खानाको ब्यबस्था, हेरालुको लागी छुट्टाछुट्टै बस्ने ब्यबस्था, बालबालिकालाई खेल्ने सामग्री सहित अभिभावकसंगै बस्ने ब्यबस्था गरिएको छ ।

जहाँ कोरोना पोजिटिभका लागी १२ बेडको ब्यबस्थापन गरिएको छ भने हेरालुका लागी छुट्टै ३ बेडको ब्यबस्था रहेको छ ।

गर्भवतीलाई अस्पताल सम्म लैजान अथवा अस्पतालबाट होल्डिङ्ग सेन्टरसम्मको लागी २४ सै घण्टा एम्बुलेन्स सेवा, नियमित चेकजाँचलागी २४ सै घण्टा स्वास्थ्यकर्मी सेवा लगायतका अन्य सुबिधा समेत रहेको छ ।