सुदूरपश्चिममा १८६ परिवार विस्थापित, बाढी पहिरो पीडितहरु त्रिपाल मुनि रात काट्न बाध्य
2020/07/23, 1:31
 
bajura badi pidit

केही दिनयताको लगातारको वर्षाका कारण सुदूरपश्चिमका धेरै ठाउँमा जनधनको क्षति भएको छ । वर्षाले बाजुरामा १ सय ८६ परिवार विस्थापित भएका छन् । बाजुराको बूढीगंगा नगरपालिका— २ बजेडीका १ सय ३४ परिवार, नडागका १०, मुसीगाउँका ३६, ताप्रीसेराका ६ परिवार विस्थापित भएका हुन्। बूढीगंगा नगरपालिका— १ को अम्कोट, डुग्री र कुडीका पूरै बस्ती नै पहिरोको उच्च जोखिममा परेका छन् । जोखिममा रहेका केही परिवार अन्यत्र विस्थापित भएका स्थानीय भरतराज उपाध्यायले जानकारी दिए। अम्कोटका मरुदेवी पाध्याय, डम्मदेवी पाध्याय र सिर्जनादेवी पाध्याय छिमेकीको घरमा सरेका छन ।

सोही वडाको कुडी र रावतवाडाका २० परिवार नजिकको स्कुल, मन्दिर र खेतमा पाल टाँगेर बसेका छन् । बस्ती माथि र तल दुवैतर्फबाट पहिरो जान थालेपछि त्यहाँका स्थानीयलाई अन्यत्र स्थानान्तरण गर्न ढिलो भइसकेको नेपाल रेडक्रस बाजुराका सभापति रामबहादुर शाहीले बताए । ‘जोखिममा भयौ भन्दै राहत माग्न आउँछन्, सरकारको नियम एकातिर हुन्छ, बस्तीका स्थानीय विस्थापित भएका छन्, राहत दिन र सिफारिस गर्न समेत समस्या भएको छ’, उनले भन । पानीमुल खोला र ठाँडो खोलाको बाढीले मुसी, खर्रा र ताप्रीसेराका सयौ बिगा खेतीयोग्य जग्गा बगरमा परिणत भएको बूढीगंगा नगरपालिका—२ का वडाध्यक्ष हीरालाल थापाले बताए ।

आइतबार रातिको अविरल बर्षाले बजेडीका २० परिवार उच्च जोखिममा छन् । घर माथिबाट पहिरो आएपछि उनीहरू छिमेकीको घरमा सरेका छन् । पहिरोले १ सय ३४ घर परिवार रहेको सो बस्तीका स्थानीय रातभर जाग्राम बस्ने गर्छन । ‘पानी आयो भने चारैतिरबाट पहिरो बग्न सुरु भईहाल्छ’ स्थानीय खड्कराज जोशीले भने । घर चर्किएपछि नडाङका १० परिवार शिवशंकर प्राविमा बस्न थालेका बूढीगंगा नगरपालिका— २ का वडाध्यक्ष हीरालाल थापाले जानकारी दिए । ताप्रीसेरा बजारमा पनि बाढीले लाखौंको क्षति भएको छ । घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका ६ ओटा होटेल र पसल पूर्णरूपमा क्षति पु¥याएको छ ।

त्रिवेणी नगरपालिका— ७ कोसेडीका ३ परिवार र वडा नम्बर ४ तोलीका ३ परिवार पहिरोको उच्च जोखिममा रहेका दैविक प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए । उनका अनुसार खप्तड छेडेदह गाउँपालिका ७ गम्लागाउँका ४५ घरधुरी र सोही गाउँपालिकाको दशरथ बठालेख प्राविको भवन पनि उच्च जोखिममा छ ।

खानेपानीको हाहाकार
लगातारको वर्षाले र पहिरोले बाजुरामा खानेपानी समेत बगाएको छ। बूढीगंगा नगरपालिका— २ को बजेडी, नडाग, मुसी, ताप्रा र ताप्रीसेरा लगायतका बस्तीमा आइतबार आएको बाढी पहिराले खानेपानी अवरुद्ध बनाएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । उनका अनुसार पानीको मुहान नै पहिराले बगाएको छ ।

पहिरोले खानेपानी नै बगाएपछि बूढीगंगा नगरपालिकाका २ र ३ का ५ सयभन्दा बढी परिवार समस्यामा परेका वडा नम्बर २ का अध्यक्ष हीरालाल थापाले बताए । बाजुराका विभिन्न भेगका ९५ बस्ती प्रकोपको उच्च जोखिममा रहेका जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ । बस्ती स्थानान्तरणका लागि पटकपटक सहरी विकास तथा भवन विभाग र अन्य निकायको ध्यानाकर्षण गराइए पनि सुनुवाइ भएको छैन।

बाढी पीडित त्रिपालमुनि
अविरल वर्षाले महाकाली नगरपालिका क्षेत्रका घर र पसल डुबाएपछि दार्चुलाको डुङरीका स्थानीय त्रिपालमुनि रात काट्न बाध्य भएका छन् । संकटका बेला तीनै तहका सरकारले आफूहरूको समस्या सम्बोधन नगरेको उनीहरूको गुनासो छ । स्थानीय मानादेवी कार्की भन्छिन्, ‘बाढीले घरखेत बगायो, खानेकुरा पनि बाढीसँगै बग्यो, त्रिपाल टाँगेर बसेका छौं, कुनै पनि सरकारले हेरेको छैन ।’

महाकाली नगरपालिका ३ का १० जना त्रिपालको अस्थायी टहरो बनाएर बसेका छन्। बाढीले पुरानो बस्ती बगर बनाएकाले खाने, बस्ने व्यवस्था नभएको स्थानीय धीरेन्द्रसिंह धामीले बताए । वर्षाले महाकाली नगरपालिका—३ लास्कु खोलामा बाढी आउँदा डुङरी जलविद्युत् आयोजनाको पावर हाउस डुबानमा परेको छ । बाढीका कारण चार सय जनाले प्रयोग गर्ने विद्युत् सेवा अवरुद्ध भएको छ । पावरहाउस आसपासका पसलमा समेत क्षति पुगेको छ । खोलाको बाढीले सो क्षेत्रको पुरानो स्वरूप परिवर्तन गरेको छ । खोला पावरहाउसतर्फ बाट बग्दा विद्युतीय सामग्री र अन्य उपकरण डुवेका छन् ।