सुदूरपश्चिमको कोरोना अस्पतालका रुपमा तोकिएको सेती प्रादेशिक अस्पतालमा पछिल्लो तीन दिनयता कोरोना संक्रमित उपचारका लागि आएका छैनन । त्यसअघि आएका सबै संक्रमित डिस्चार्ज भएको र नयाँ नआएपछि अस्पतालको कोरोना उपचार भवन खाली भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले ४० शैयाको कोरोना उपचार भवनमा तीन दिनदेखि संक्रमित नरहेको बताए । उनले उपचारका लागि आएका ७८ जना संक्रमित डिस्चार्ज भएको, एक जनालाई अन्यन्त्र रिफर गरिएको र एक जनाको मृत्यु भएको जानकारी दिए ।
प्रदेशमा कोरोनाका संक्रमित देखिरहे पनि तीन दिन यता उपचारका लागि सेती अस्पताल नआएको उनले बताए । सेती प्रादेशिक अस्पतालमा अहिलेसम्म शंकास्पद सहित एक सय ७३ जनाको उपचार भएको छ । सुदूरपश्चिममा ५६ जना कोरोना संक्रमित टिकापुर अस्पताल, मालाखेती अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल डोटी र जिल्ला अस्पताल अछामको आइसोलेसनमा छन् ।
अरु सबै संक्रमित स्थानीय तहले बनाएका आइसोलेसन र होम आइसोलेनमै बसेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा बस्दा स्वास्थ्य सुरक्षाका मापदण्डमा हुन सक्ने लापरबाहीले अरुलाई सार्न सक्ने जोखिम समेत बढेको छ । प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या चार हजार एक सय ७७ जना पुगेको छ । तीमध्ये ८ जनाको मृत्यु भएको छ भने दुई हजार दुई सय ३३ जना डिस्चार्ज भएका छन ।