कञ्चनपुरका मुक्त हलियाको घर निर्माण अधुरै
2020/07/24, 6:46
 
haliya

दोस्रो किस्ताको रकम पाउन नसक्दा कञ्चनपुरका मुक्त हलियाको घर निर्माण अलपत्र परेको छ। सरकारले मुक्त हलिया पुनःस्थापनाका लागि अनुदानबापत उपलब्ध गराएको दोस्रो किस्ताको रकम पाउन नसक्दा यहाँका ६ सय १९ मुक्त हलिया परिवारको घर निर्माण अलपत्र परेको हो।

पुनःस्थापनमा परेका मुक्त हलियाले घर निर्माणका लागि ७० प्रतिशत रकम पाए पनि दोस्रो किस्ताको ३० प्रतिशत रकम पाउन सकेका छैनन्। मुक्त हलिया पुनःस्थापना समिति विघटन भएपछि आव २०७६÷७७ मा पुनः स्थापनाका लागि मालपोत कार्यालयलाई रु दुई करोड ८२ लाख २२ हजार ५०० रकम प्राप्त भएको थियो।

“असार पहिलो साता प्राप्त भएको रकम पाउनका लागि भूमि सुधार तथा मालपोत कार्यालयले सार्वजनिक सूचना जारी गरी मुक्त हलियालाई फार्म भर्न लगाइयो”, राष्ट्रिय हलिया मुक्ती समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले भने, “टाढा टाढाबाट आएका पुनः स्थापनमा परेका मुक्त हलियाले फार्म भरे तर रकम पाएनन्।” मुक्त हलियालाई मन्त्रालयबाट आदेश नआएको भन्दै पुनः स्थापनको दोस्रो किस्ताको रकम नदिइएको उनको भनाइ छ। 

दोस्रो किस्ताको रकम नपाएपछि धेरै मुक्त हलिया परिवारले आफन्तसँग ऋणका रुपमा रकम लिई घर निर्माण गरेका छन्। “कोराना भाइरस सङ्क्रमणको असहज अवस्थामा खानकै लागि खर्च धान्न मुश्किल भएको अवस्थामा घर निर्माणको रकम नपाउँदा ऋणको बोझमा थिचिनुपरेको छ”, पुनःवासका लक्ष्मी रैकालले भन्नुभयो, “दोस्रो किस्ताको रकम पाइने आशामा थियौँ। त्यो पनि पाएनौँ।”

समाजका अध्यक्ष लुहारका अनुसार क, ख र ग श्रेणीको परिचय पत्र पाएका ६१९ मुक्त हलियाले दोस्रो किस्ताको रकम पाउन बाँकी रहेका छन्। भूमि सुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख खेमराज खत्रीले मुक्त हलिया पुनः स्थापनाका लागि मन्त्रालयबाट प्राप्त भएको रकम वितरणका लागि सूचना जारी गरी ५१ जनालाई रु ३०÷४० लाख रकम वितरण गरिएको बताए। 

सूचना जारी गरिए पनि धेरै जना कार्यालयमा सम्पर्क गर्न नआएको र कार्यालयमा रकमका लागि पुगेका केहीको कागजपत्र अपुग भएका कारण रकम प्राप्त गर्न नसकेको उनले बताए। “पुनः स्थापनाको दोस्रो किस्ताको रकम पाउन नसकेका परिवारले अब सम्बन्धित स्थानीय तहबाटै रकम पाउने गरी लेखी पठाएका छौँ”, कार्यालय प्रमुख खत्रीले भने, “अब रकम स्थानीय तहबाटै पाइन्छ।” अनुदान पाएपछि घर बनाउन उत्साही भएका मुक्त हलिया परिवार अहिले निराश छन्।