डोटी जिल्लाको आदर्श गाउँपालिका–५ मा डिभिजन वन कार्यालयले ठूलो परिमाणमा सालको चिरान गरेको काठ बरामद गरको छ । डिभिजन वनको टोलीले सालको काठ चिरान गरी लुकाइराखेको खबर पाएपछि त्यसतर्फ जाँदा काठ बरामद भएको डिभिजन वन प्रमुख शम्भु तिवारीले जानकारी दिए । बरामद भएको काठको परिणाम भने डिभिजन वनले अहिलेसम्म जानकारी दिएको छैन ।
वनको टोली स्थलगत गएको १५ घण्टा बित्दा पनि बरामद काठको परिमाण र अवैध काम गर्ने व्यक्तिबारे जानकारी नदिइँदा घटना गाउँमै मिलाउने तयारी भएको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । डिभिजन वन प्रमुख तिवारीले स्थलगत अध्ययन तथा काठ बरामद गर्न गएको टोलीले अहिले पनि क्षेत्रमै काम गरिरहेकाले यकिन विवरण भन्न नसकिने बताए ।
उनले भने– ‘हाम्रो टोली काठ बरामद भएकै क्षेत्रमा काम गरिरहेको छ, टोली आएपछि मात्रै सबै विवरण भन्न सकिन्छ, अहिले बरामद भएको काठको परिणाम भन्न सकिने अवस्था छैन ।’ कोरोनाका कारण सरकारले गरेको लकडाउनको समयमा जिल्लामा व्यापक रूपमा वन फँडानी गरिएको स्थानीयबासीको आरोप छ ।