बिहीबारदेखि जिल्ला भित्रका यातायात सञ्चालनमा आए पनि कैलालीमा यात्रुहरु भने आएनन् । यात्रु नआउँदा धेरै सार्वजनिक यातायातका साधन बसबसपार्कमै थन्किएका छन् । धेरै यात्रुले सार्वजनिक बस खुलेको जानकारी नपाएको र कतिपय यात्रुले सुरक्षाका कारण पनि सार्वजनिक यातायातामा सवारी गर्न नसकेको व्यवसायीको भनाई छ । ४ महिना लामो लकडाउनपछि बिहीबारदेखि छोटो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आए पनि बसमा सवार गर्ने यात्रु नपाएपछि दुई चार बाहेक सबै सार्वजनिक बस बसपार्कमै थन्किएको सुन्दुर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।
बस चालक रुपलाल चौधरीले लामो समयपछि बस सार्वजनिक सेवा सञ्चालन भएका कारण यात्रुलाई जानकारी नभएको हुन सक्ने बताए । आफुहरुलाई पनि कारोनाको त्रास भए पनि सचेत भएर यातायात सञ्चालन गरिरहेको उनले बताए । सार्वजनिक यातायात महाँसंघ सुदूरपश्चिम प्रदेश संयोजक डिबि खलौलाले सार्वजनिक यातायातमा यात्रु आउन अझै केही समय लाग्ने बताए । बस चालक अनिपाल भण्डारा भन्छन्, ‘लकडाउनले फुर्सदिला भएका थियौ । अव भने काममा फर्किएका छौ । सिटको आधा मात्रै यात्रु राखेर गाडी चलाइरहेका छौ ।’‘ यात्रु र आफूहरूलाई जोखिम नहोस् भन्नका लागि बसमै यात्रुका लागि पनि मास्क र स्यानीटाइजर राख्ने गरेका छौ, उनले भने ।
एक जना यात्रु भक्तबहादुर साहु भन्छन्, ‘यातायातका साधन चले यो खुशीको कुरा हो । तर सामाजिक दुरी र मास्कको भने गाडीमा अनिवार्य प्रयोग गर्नुपर्छ । त्यसो नगरिए कोरोना सङ्क्रमण फैलिन सक्ने जोखिम बढी हुन्छ ।’ सरकारले साउन १ गतेदेखिनै छोटो दुरीका सार्वजनिक बस सञ्चालन गर्ने अनुमति दिएको भए पनि व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गरेका थिएनन् ।
यातायात व्यवसायी र सरका विच साउन ६ गते भएको सहमति पछि मात्रै बिहीबार देखि व्यवसायी गाडी चलाउन सहमत भएका थिए । सुदूरपश्चिममा केही सार्वजनिक यातायात भने भदौ ४ गते देखिनै सञ्चालनमा आएका थिए । सार्वजनिक यातायात महाँसंघमा आवद्ध सावारी साउन ४ गतेदेखि नै सुदूरपचिमका ९ वटै जिल्लामा आन्तरिक रुपमा सञ्चालनमा आएका हुन् ।