भारत र चीनसँग सीमा जोडिएको व्यास गाउँपालिका–१ छाङ्गरुको कौवा र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तथा सदरमुकाम खलङ्गामा सशस्त्र प्रहरीको गण स्थापना हुने भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २९ गतेको बैठकले दार्चुला सदरमुकाम खलङ्गामा गण र सीमा क्षेत्रमा थप चार वटा बिओपी स्थापना गर्ने निर्णय गरेको हो।
सदरमुकाम खलङ्गामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर व्यासको छाङ्गरु गागामा स्थापना हुनेछ। सदरमुकाम खलङ्गामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर स्थापना हुने भएको हो।
सरकारले यही वैशाख ३१ गते छाङ्गरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरेको छ। गागामा सशस्त्र प्रहरीको गुल्म रहने छ। गुल्मको भवन निर्माणका लागि सरकारले ठेक्का लगाइसकेको छ। कालापानी नजिकैको कौवा क्षेत्रमा सशस्त्र प्रहरीले बिओपी राख्ने जनाएको छ। यसअघि पनि यहाँका स्थानीयवासीले कौवा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी राख्नुपर्ने माग गर्दै आएका थिए।
कौवाबाट कालापानी नजिकै पर्छ। यो क्षेत्रसम्म राज्यको उपस्थिति गराउन सकियो भने सरकारले हालै जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको आफ्नो भूमि देख्न सकिन्छ। अहिले पनि भारतले नेपालकै भूमि कालापानी नजिक नेपाली सुरक्षाकर्मीलाई जान दिएको छैन।
छाङ्गरुको गागामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरी कौवासम्म कहिलेकाहीँ गस्ती निस्कने गरेका छन्। भारतीय सुरक्षाकर्मी पहिल्यै अतिक्रमण गरेको कालापानी भन्दा झण्डै एक किलोमिटर तल आएर बसेको छ। सुदूरपश्चिम प्रदेशको दार्चुला र कैलाली जिल्लामा सशस्त्र प्रहरी बलको नयाँ गण स्थापनाका लागि विभागबाट स्वीकृति प्राप्त भएको सशस्त्र प्रहरी गुल्म दार्चुलाका गुल्मपति डम्बर विष्टले बताए।
यस्तै सरकारले व्यासको कौवा र तिङ्करसँगै महाकाली नगरपालिका–९ को दत्तु र व्यास गाउँपालिका–४ को सुन्सेरामा सशस्त्र प्रहरी बलको बिओपी स्थापना हुने भएको छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले यसअघि भारतसँग सीमा जोडिएको दार्चुलाको लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–७ को जौलजीवी, व्यास गाउँपालिका–२ को दुम्लिङ र वडा नम्बर १ को छाङ्गरु गागामा बिओपी स्थापना गरिसकेको छ।
दार्चुलामा भारतसँग कूल १२५ किलोमिटर सीमा जोडिएको छ, भने चीनसँग २० किलोमिटर सीमा जोडिएको छ। यसअघि चीनसँगको सीमामा दार्चुलाको नेपाल प्रहरीको मात्रै उपस्थिति छ। प्रहरीले व्यास गाउँपालिका–१ तिङ्करको छायालेकमा सीमा प्रहरीचौकी राखेको छ। जिल्लामा गण स्थापना भएसँगै सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्रबहादुर बमको नेतृत्वमा पाँच सशस्त्र प्रहरी नायब उपरीक्षक, १४ सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी कर्मचारी गरी ६२१ जनाको दरबन्दी रहने छ। सशस्त्रको गुल्ममा भने १५० जना बस्दै आएका छन्।