धनगढी उपमहानगरपालिकामा ‘दिसा’ भेटिएपछि छानविन समिति गठन !
2020/07/24, 5:45
 
nagarpalika

धनगढी उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा राखेको भेटिएपछि तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा भेटिएपछि उप–महानगरपालिकामा हंगामा मच्चिदा तीन सदस्यीय छानविन समिति बनाईएको हो । 

उप–महानगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्वमा शुक्रबार उप–महानगरपालिकाले योजना शाखा प्रमुख जोशीको कुर्सीमा दिसा भेटिएको विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटाले कार्यालयले आन्तरिक रुपमा सो सन्दर्भमा वास्तविक के हो ? भनी अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको बताए । 

के थियो घटना ? 
साउन ७ गते धनगढी उप–महानगरपालिकाका शाखा प्रमुखहरुको बैठक बसेको थियो । नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख सुसिला मिश्र भट्ट समेत सहभागी बैठकमा योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीले कर्मचारीलाई पुरस्कृत गरिएको विषयमा प्रश्न उठाएका थिए । बैठकमै सहभागी एक कर्मचारीका अनुसार जोशीले कर्मचारीलाई पुरस्कृत गर्ने मापदण्ड के हो ? भनेर प्रश्न गरेका थिए ।

यस्तै जोशीले धनगढीमै घर भएका कर्मचारीलाई आवास खर्च कसरी दिईयो ? भन्ने विषय पनि उठाएका थिए । सो विषय उठाएपछि उपमहानगरपालिकाका केही कर्मचारी जोशीसँग रुष्ट थिए । साउन ७ गते कार्यालयको काम सकेर घर फर्किएका जोशीले भोलीपल्ट कार्यालयमा झण्डै दुई घण्टासम्म काम गरेका थिए ।

कुर्सीमा राखेको दिशा कपडामा लागेपछि मात्र जोशीले कुरा थाहा पाएका थिए । उनले तत्काल नै प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीलाई सो विषयमा जानकारी गराएका थिए । जोशीको कार्यकक्षमा सिसी क्यामेरा समेत छैन् ।