भारतीयद्वारा नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा रोक लगाईएपछि वडाध्यक्षले मागे हेलिकप्टर
2020/07/25, 6:39
 
sima

भारतीय पक्षले नेपालीलाई धारचुलाको बाटो हिडडुल गर्न रोक लगाएपछि ब्यास गाउँपालिकाका वडाध्यक्षले प्रदेश सरकार समक्ष सहुलियत भाडा प्रयोग गर्न हेलिकप्टर माग गरेका छन् । छाङरुङ पुगेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहलाई भेटेर वडाध्यक्ष अशोक बोहराले वारी पारीका नेपाली नागरिकलाई ओहोर दोहोर गर्न हेलिकप्टर उपलब्ध गराइनिदुपर्ने माग राखेका हुन् । 

नेपालले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा समेटेर नक्सा प्रकाशित गरेपछि भारतले धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक हुन सक्ने अनुमान गरिएको छ । दार्चुलाको ब्याँस गाउँपालिका–१ का स्थानीयले प्रयोग गर्दै आइरहेको बाटो प्रवेशमा रोक लगाए पछि आवत जावतमा समस्या भएको बताउँदै वडाध्यक्ष अशोक बोहराले ओहोर दोहोरका लागि हेलिकोप्टर माग गरिएको बताए ।

उनका अनुसार भारतले कालापानी सीमा विवादका कारण बाटो प्रयोगमा रोग लगाएको हो । भारतले बाटो प्रयोगमा अवरोध गरेपछि छाङरु र तिंकरवासीलाई ओहोर दोहोर गर्न सहुलियत भाडामा हेलिकप्टर माग गरिएको वडाध्यक्ष बोहराले बताए । उनले बिहिबार छाङ्गरु पुगेको आन्तरिक मामला तथा कानुन मन्त्री प्रकाश शाहलाई ज्ञापनपत्र बुझाउँदै हेलिकप्टर माग गरेका हुन् । बाटो बन्द भएपछि त्यस क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी समेतलाई ओहोरदोहोरा समस्या भएको वडाअध्य बोहराले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।