जनता आवास कार्यक्रमअन्तर्गत सुदुपश्चिम प्रदेशका तीन जिल्लामा घर नभएर त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाएका छन । सङ्घीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर नभएर त्रिपालमुनि बस्दै आइरहेका अति विपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो । भवन डिभिजन कार्यालय बैतडी मार्फत आर्थिक वर्ष २०७६÷७७ मा १० करोड तीन लाखको लागतमा बैतडी, दार्चुला र बझाङमा ४८६ घर निर्माण गरिएका हुन्।
तीमध्ये बैतडीमा २८५, दार्चुलामा १०१ र बझाङमा १०० घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीका लेखा अधिकृत प्रेमराज अवस्थीले बताए ।
उनका अनुुसार सो घर निर्माणका लागि बैतडीमा पाँच करोड सात लाख चार हजार, दार्चुलामा एक करोड ५५ लाख र बझाङमा दुई करोड पाँच लाख छ हजार खर्च भएका छन्। निर्माण भएका सबै घर भूकम्प प्रतिरोधी रहेका कार्यालयले जनाएको छ । चालू आवमा थप घर निर्माण हुने भएका छन् ।
गरिब घरपरिवार खुशी
जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण भएपछि गरिब तथा विपन्न घरपरिवार खुशी भएका छन्। वर्षौदेखि त्रिपालमुनि बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुसी भएका हुन् । पञ्चेश्वर गाउँपालिकाका– ४ का गम्भीर टमाटाले सरकारले जनता आवास कार्यक्रमले घर बनाइदिएपछि खुशी भएको बताए। वर्षौदेखि त्रिपालमुनि बस्दै आइरहेको भए पनि हाल छानामुनि बस्न पाउँदा निकै खुशी लागेको उनले बताए । उनले भने, “घर बनाइदियो सरकारलाई धेरैधेरै धन्यवाद छ । त्रिपालमुनि बस्दै आइरहेका थियौँ, अब ढुक्कले छानामुनि बस्न पाइएको छ ।”
घर पाउँदा बर्खामा ढुक्कले छानामुनि बस्न पाएको पञ्चेश्वरकै सकुन्तला कोलीले बताए । “पानी पर्दा सधैँ चिन्ता हुने गरेको थियो”, उनले भने, “अब बर्खा होस् कि हिउँद ढुक्कसँग बसिन्छ।” सरकारले मुक्त हलियालाई पनि घर बनाइ दिएकाले भवन डिभिजन कार्यालयबाट जनता आवस कार्यक्रमअन्तर्गत घर निर्माण गर्दा दोहोरो हुन नदिन स्थानीय तहको सिफारिसमा जनता आवासका घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीले जनाएको छ । अधिकांश ठाउँमा दोहोरा सुविधा लिएको र घर हुनेले पनि जनता आवासको घर पाएको गुनासो आएपछि यो वर्ष स्थलगत निरीक्षण गरेर स्थानीय तहको सिफारिस अनिवार्य गरेर मात्र घर निर्माण भएको कार्यालयले जनाएको छ ।