कैलालीको लम्कीमा यातायात सेवा कार्यालय स्थापनाको माग गर्दै शनिबार प्रदर्शन गरिएको छ । यातायातसँग सम्बन्धीत काम गर्न धनगढी धाउनुपर्ने बाध्यता रहेको भन्दै त्यहाँका व्यापारी, राजनीतिक दल तथा युवाहरु प्रदर्शनमा उत्रिएका छन् । लम्कीमा सेवा कार्यालय सञ्चालनका लागि दवाव दिन गत मंगलबार संर्घष समिति गठन गरिएको थियो ।
समितिकै अगुवाइमा शनिबार दिउँसो लम्कीमा प्रदर्शन गरिएको हो । संर्घष समितिका संयोजक यज्ञरुप बुढाले टीकापुर, मोहन्याल र सुखड क्षेत्रका नागरिकका लागि लक्की उपयुक्त ठाउँ भएकाले यातायात व्यवस्थाको सेवा कार्यालय सञ्चालन गर्नुपर्ने बताए । उनले भने, ‘लम्की क्षेत्रमा सबै प्रकारका सेवाहरु छन् । तर सवारी नविकरणका लागि धनगढी जानुपर्ने बाध्यता छ। सेवा कार्यालय लम्कीमा स्थापना हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
उनले धनगढी जान टाढा पर्ने र समय खेर जाने भएकाले यातायात कार्यालय लम्कीमै स्थापना हनुपर्नेमा जोड दिए । प्रदर्शनकारीहरुले कार्यालय मागको लागि धनगढी आउने योजना रहेको बताए । आफ्ना माग राख्दै प्रदेशका मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीलाई ज्ञापनपत्र समेत दिने संर्घष समितिका संयोजक यज्ञ बुढाले बताए ।