पहुँचमा काम नगरी भुक्तानीः एकै ठाउँमा ५ पटक योजना पर्दा पनि निर्माण कार्य अलपत्र
2020/07/25, 8:09
 
baitadai

बैतडीको सिगास गाउँपालिका ८ स्थित लुपुडको चडेपानी सीम सिचाइ परियोजनाको निर्माण कार्य अलपत्र परेको छ । तत्कालीन गाउँ विकास समितिदेखि हालसम्म सो ठाउँमा ५ योजनाभन्दा बढी योजना परेर बजेट विनियोजन भईसकेका छन् । पहुँचको आधारमा सत्ता निकट नेता कार्यकर्ताहरुले योजना हाल्न लगाउने कामै नगरी भुक्तानी लिने गरेका छन् ।

काम नगरी लाखौ भ्रष्ट्राचार भएको र स्थानीयले आफुहरुले काम गरेको ज्याला समेत नपाएको गुनासो गरेका छन् । बर्षौसम्म ज्याला नपाएपछि घर व्यवहार चलाउनै गाहे भएको स्थानीयको गुनासो छ । योजनाका नक्कली बिल पेस गरेर भुक्तानी लिने र आफुहरुले श्रम गरेको ज्याला समेत नपाएको स्थानीयले दुखेसो पोखेका छन् । गत आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेश सरकार मार्फत ३० लाख लागतको बजेटमा अनियमितता भएको आरोप लागेको छ । सिचाई योजनामा भ्रष्टाचार र कमिसनको खेल देखिएको सम्बद्धहरुको आरोप छ ।

कार्यकर्ताले आफुले योजना ल्याएको भन्दै लाखौ असुल्ने गरेको समेत पाईएको छ । सिचाई आयोजनाका उपभोक्ता समितिका अध्यक्ष पुर्ण बोहराले ३० लाखको बजेटमा घटेर १५ लाख मात्र भुक्तानी भएको बताए । उनले १५ लाखमा ६ लाख रुपैयाँ स्थानीय नेता केशव बोहराले थप योजना हाल्दिन्छु भन्दै कमिसन मागेको बताए ।

उनले भने– ‘म माथि जनदबाब आयो न कुनै थप बजेट र योजना आयो न त कामदारको ज्याला दिन पैसा नै पर्याप्त थियो । मलाई सुनियोजित रुपमा फसाईयो, मेरो नाममा अख्तियारमा मुद्दा छ, म कहाँबाट त्यत्रो पैसाको जोहो गरौं ।’ यता केशव बोहराले भने आफुले ६ लाख रुपयाँ नलिएको दाबी गरेका छन् । २ लाख २० हजार लगेको र सो रकम फिर्ता गर्ने उनले बताए ।