सुदुरपश्चिममा काठ तस्करी बढ्दो,  कैलालीमा मात्रै ७ सय ९६ जनालाई मुद्दा
2020/07/25, 8:51
 
katha taskari

सुदूरपश्चिमका वन जङ्गलमा पछिल्लो समय काठ तस्करी बढेको छ । तस्करले साल, खयर, साज, सल्लो लगायत जातका रुख अवैध रुपमा कटान गरी तस्करी वढेको हो । कैलाली, कञ्चनपुर लगायत पहाडी सात जिल्लामा बर्सेनी काठ तस्करी बढ्दै गएको हो । काठ तस्करी मौलाउँदै गएपछि वन डिभिजन कार्यालयहरुलाई नियन्त्रण गर्न समस्या भएको छ । तस्करले काठ माटो, बालुवा तथा स्याउलाले छोपेर, अवैध बाटोबाट लुकाइछिपाइ दिउँसै रुख काटेर तस्करी गर्ने गरेका छन् ।

पछिल्लो एक बर्षको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम प्रदेशमा ठुलो परिमाणमा काठ तस्करी भएको देखिएको छ । प्रदेश वन निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा डिभिजन वन कार्यालय कैलालीमा मात्रै काठ तस्करीका ३ सय २७ मुद्दा दर्ता भएका छन् । तस्करीमा संलग्न ७ सय ९६ जनालाई मुद्दा चलाएको उल्लेख छ ।  

११ करोड ४७ लाख १९ हजार दुई सय रुपैयाँ बिगो भराईएको छ । डिभिजन वन कार्यालय डडेल्धुरामा काठ तस्करीका १३ मुद्धा दर्ता भएका छन् । जसमा संलग्न २० जनालाई मुद्धा चलाएर कारबाही गरीएको छ । उनीहरुबाट एक लाख ३३ हजार दुई सय ६८ रुपयाँ विगो भराएको छ । यस्तै डिभिजन वन कार्यालय डोटीमा तस्करीका ९ मुद्धा दर्ता भएका छन् भने १३ जना कारबाहीमा परेका छन् । उनीहरुबाट २ लाख ४० हजार १ सय ४ रुपैयाँ विगो भराएको छ ।

यस्तै डिभिजन वन कार्यालय बझाङ्गमा दर्ता भएका २४ मुद्धामा ४४ जना कारबाहीमा परेका छन् । तस्करीमा संलग्नबाट २ लाख ७७ हजार विगो भराएको छ । डिभिजन वन कार्यालय दार्चुलामा दर्ता भएका ५ मुद्धामा संलग्न ९ जना कारबाहीमा परेका छन् । उनिहरुबाट ७० हजार ५ सय ४० रुपयाँ विगो भराएको छ ।डिभिजन वन कार्यालय अछाममा दर्ता भएका २ मुद्धामा संलग्न २ जना कारबाहीमा परेका छन् । उनिहरुबाट १ लाख ४८ हजार विगो भराएको छ ।

डिभिजन वन कार्यालय बाजुरामा दर्ता भएका ५ मुद्धामा १७ जना कारबाहीमा परेका छन् । उनिहरुबाट १ लाख ८ हजार ४ सय विगो भराएको छ । यस्तै डिभिजन वन कार्यालय बैतडीमा दर्ता भएका ३ मुद्धामा ४ जना कारबाहीमा परेका छन् । उनिहरुबाट ४५ हजार ३ सय आठ रुपयाँ विगो भराएको छ । प्रदेश वन निर्देशक हेमराज बिष्टले लकडाउनको समयमा काठ तस्करी बढेको बताए । उनले लकडाउनको समयमा बाटोहरु बन्द गरेर काठ् तस्करी भएको स्वीकार गरे । ‘सरकारले काठ बन्द गरेको कारणले पनि अवैध तस्करी बढेको हो ।’ उनले भने–‘बजारमा काठ्को अभाव छ आवश्यकता अनुसार काठ पुर्ति हुन नसकेको कारणले पनि तस्करी बढेको हो ।’ प्रदेशभर आर्थिक बर्ष २०७६÷०७७ मा काठ् तस्करीमा संलग्नहरुलाई १६ सय १० जनालाई वन ऐन अनुसार कारबाही गरिएको बिष्टले जानकारी दिए ।

लकडाउनमा काठ तस्करी बढ्यो
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशमा चैत १० गते जारी गरेको लकडाउन साउन ५ गते अन्त्य गरेको छ । सो समयमा कैलाली र कञ्चनपुरका सामुदायिक तथा राष्ट्रिय वनमा काठको चोरी तस्करी बढेको देखीएको छ । वन डिभिजन कार्यालय र सामुदायिक वनहरूको निष्क्रियताको मौका छोप्दै अवैध रुपमा काठ कटानी तथा तस्करी बढेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले लकडाउनको समयमा वन क्षेत्रमा काठ तस्करी वृद्धि भएको बताए । ‘लकडाउनपछि कञ्चनपुरका राष्ट्रिय वनबाट तस्करी गरिएको एक सय ५० क्यूफिट काठ बरामद गरिएको छ ।’

उनले भने,–‘विभिन्न सामुदायिक वनहरूबाट समेत ५० देखि ६० क्यूफिट काठ बरामद गरिएको छ ।’ कैलालीमा डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पर्ने विभिन्न वनहरूबाट पनि अवैध रुपमा काठ कटानी र तस्करी गरेको पाईएको छ । पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गतका वनहरूबाट लकडाउनपछि ६ सय क्यूफिटभन्दा बढी काठ बरामद गरिएको छ । लकडाउनमा स्थानीयबासी सहित वनका कर्मचारीहरूको आवतजावत रोकिएकोले काठ तस्करी बढेको वनकर्मीहरूको भनाइ छ । अन्य समयमा पनि चोरी तस्करी नियन्त्रण हुन नसकेका बेला लकडाउन अवधिमा भने झनै बढेको देखिएको छ । विभिन्न ठाउँबाट तस्करी हुन लागेको काठ पनि ठुलो परिमाणमा बरामद गरेको छ । वन कार्यालयहरूले नियमित रुपमा निगरानी नसकेकै कारण काठ तस्करी बढेको हो ।