एम्बुलेन्स खरिद प्रकरण : छानबिन प्रतिवेदनमाथिको छलफल अघि बढेन
2020/07/26, 6:16
 
ambullence

एम्बुलेन्स खरिद सम्बन्धी छानबिन गरि सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रारम्भिक प्रतिवेदनमाथिको छलफलमा अवरोध आएको छ । लेखा समितिका केही सदस्यहरुले उपसमितिको प्रतिवेदनमाथिको छलफल शुरु गर्नुअघि पूर्ण समितिमा समिक्षा हुनुपर्ने अडान राखेपछि छलफल प्रक्रिया अघि बढ्न सकेको छैन ।

सार्वजनिक लेखा समितिका सभापति नन्दा कुमारी बमको संयोजकत्वमा गठित उपसमितिले एम्बुलेन्स खरिदबारेको छानबिन गर्दा विधि, प्रक्रिया र पद्दति मिचेर काम गरेको आरोप समेत लगाएका छन । सार्वजनिक लेखा समितिको ७४ औं बैठकमा समितिका सदस्यहरु मानबहादुर धामी, बलबहादुर सोडारी, बल्देव रेग्मी र अम्मरबहादुर साउदले उपसमितिले प्रक्रियागत ढंगले प्रतिवेदन पेश नगरेकोले पूर्ण समितिमा समिक्षा गरेर मात्रै छलफल अघि बढाउने अडान राखेका थिए ।

समितिको बैठकमा सदस्य धामीले प्रश्न गरे– उपसमितिले प्रतिवेदन तयार गर्दा कुन विज्ञसंग छलफल ग¥यो वा कोठाभित्रै बसेर तयारी पारियो ?’ उनले प्रतिवेदन पेश गर्ने प्रक्रियामै त्रुटी देखिएको दाबी गर्दै यसबारे उपसमितिले समितिको पूर्ण बैठकमा जवाफ दिनुपर्ने माग गरे ।समितिका अर्का सदस्य रेग्मीले भने– अहिले हामीले जसरी काम गरिरहेका छौं, भोली त्यो ‘सिस्टम’ बन्न सक्छ । त्यसैले हामीले विधि, प्रक्रिया र पद्दतिलाई ध्यानमा राखेर काम गरौं ।

सदस्य रेग्मीले उपसमितिबाट भएका गल्तीहरुको पूर्ण समितिमा छलफल गर्न माग गरे । भने– उपसमितिले पूर्ण समितिमा प्रतिवेदन पेश नगर्दै, सञ्चार माध्यम मार्फत प्रतिवेदन सार्वजनिक भइसकेको छ । उनले ‘अब कस्ता बैठकमा सञ्चारकर्मीलाई सहभागि गराउने वा नगराउने भन्नेबारे पनि सोच्न आवश्यक रहेको’ बताए । बैठकमा सभापति नन्दाकुमारीले हतार हतारमा प्रतिवेदन ल्याएको स्वीकार गरिन् । उनले प्रतिवेदन तयारी गर्दा विशेषज्ञहरुसंग छलफल गर्न नपाएको पनि बताइन । उनले भनिन–विशेषज्ञहरुका लागि सचिवालयले बजेट उपलब्ध नगराएपछि मन्त्रालयले उपलब्ध गराएको कागजपत्रकै आधारमा हामीले प्रतिवेदन तयार गरेका हौं । उनले प्रतिवेदन ल्याउने क्रममा कुनै प्रक्रिया, पद्दति नअपनाइएको भए सच्याउन तयार रहेको बताइन ।

बैठकमा उपसमितिका सदस्य मनाकुमारी साउदले “प्रतिवेदन अपरिपक्व तयार गरिएको” स्वीकार गरिन । उनले भनिन्– हामी (उपसमिति) ले एम्बुलेन्स खरिद प्रक्रियाबारे जसरी अध्ययन गर्नुपर्ने थियो, त्यसरी भएको छैन । न त हामीले विशेषज्ञहरुसंग नै छलफल ग¥यौं ।

सामुदायिक सिचाईं परियोजनाको प्रारम्भिक प्रतिवेदन पेश

यसैबीच, लेखासमितिको शुक्रबारको बैठकमा समितिका सदस्य अम्मरबहादुर साउदको संयोजकत्वमा गठन गरिएको उपसमितिले सामुदायिक सिचाईं परियोजनाको प्रारम्भिक प्रतिवेदन समितिमा पेश गरेको छ । समितिमा पेश भएका प्रतिवेदनमाथि कहिले छलफल अघि बढ्छ भन्ने बैठकले टुङ्गो लगाउन सकेको छैन ।