पुष्करनाथलाई कारबाही गरिएपछि कैलाली कांग्रेसमा भाँडभैलो, नेताहरुद्धारा सामूहिक राजीनामाको तयारी
2020/07/26, 10:12
 
puskar ojha

नेपाली कांग्रेसले पूर्व राज्यमन्त्री तथा महासमिति सदस्य पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि कैलाली कांग्रेसमा भाँडभैलो मच्चिएको छ । ओझालाई कारबाही गर्ने निर्णयका विरुद्ध नेपाली कांग्रेस कैलालीका उनी पक्षीय नेताहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । त्यसबारे छलफल गर्न सोमबार नेता कार्यकर्ताको भेला बोलाइएको छ ।

विकसित पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी अधिवेशनको बारेमा छलफल गर्न भेला बोलाइएको नेपाली कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले बताए ।  ‘पुष्कर दाइलाई कारबाही गर्ने पार्टीको निर्णयबारे छलफल गर्न भेला बोलाएका छौँ’, कुँवरले भने, ‘हामीहरुले सामूहिक राजीनामा दिनेसम्मको निर्णय गर्न सक्छौँ ।’

2

उनले नेता ओझामाथि गरिएको कारबाही बदर गर्न दबाब दिने र आगामी महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफलका लागि पनि भेला बोलाइएको बताए । ‘आयातित मान्छेहरुको अवसरका लागि अर्को पक्षलाई सक्काउने भनेरै पार्टीको एक तप्का लागेको छ’, कुँवरले भने, ‘जो साच्चिकै कांग्रेस हुन् र जेल नेल सहेका छन् उनीहरुलाई निशानामा पारिएको छ, यसले पार्टीलाई फाइदा गर्दैन ।’ कुँवरले आर्थिक अवस्था कमजोर भएका र सामान्य परिवारबाट उदायका नेताहरुलाई कमजोर पार्ने षडयन्त्र गर्दै ठेक्कापट्टामा संलग्न मान्छेहरुलाई नेता बनाउने प्रयास भइरहेको आरोप लगाए ।
पुष्करनाथ ओझालाई आगामी महाधिवेशनबाट रोकेर देउवा पत्नी आरजु राणालाई अगाडी सार्ने नियतले पार्टीले कारबाहीको निर्णय गरेको उनले बताए ।

पार्टीमा पुष्करनाथ ओझा भएसम्म मेरा लागि ठाउँ छैन भन्ने बुझाई देउवा पत्नी राणामा भएका कारण अनुशासन समिति उनको प्रभावमा परेको कुँवरले आरोप लगाए । २०७० सालको उपनिर्वाचनमा विजयी भएका ओझा त्यसपछि ०७४ सालको निर्वाचनमा कैलाली ५ बाट शेरबहादुर देउवाले पत्नी आर्जुलाई टिकट दिएपछि रुष्ट भएका थिए । पार्टीको निर्णयमा असन्तुष्ट बनेका ओझा निर्वाचनमा आर्जुको प्रचारमा गएका थिएनन् । त्यसपछि आर्जुलाई चुनाव हराउन नेकपालाई सहयोग गरेको आरोप ओझालाई लागेको थियो ।

त्यहाँ नेकपाका उम्मेदवार नारदमुनी राना विजयी भएका थिए । तर ओझालाई कारबाही गर्ने निर्णयले पार्टीलाई आगामी दिनमा पनि फाइदा नहुने कुँवर बताए । उनले भने, ‘पुष्करनाथ ओझा चुप लागेर घरमा बस्दा त चुनाव हराएको आरोप लाग्यो भने कांग्रेसकै नैतिक बन्धनबाट उनी मुक्त हुँदा कस्तो प्रभाव पर्ला सहजै अनुमान लगाउने कुरा हो ।’ उनले जीवनभर राजनीतिमा लागेको व्यक्तिले फेरि पनि राजनीति नै गर्ने बताउँदै भने, ‘पुष्करनाथ ओझाको व्यक्तिगत जीवन छैन । उहाँ राजनीतिमै हुनुहुन्छ जनताको बीचमै हुनुहुन्छ ।’