मोहनापुलदेखि धनगढी हुँदै अत्तीरया जोड्ने ६ लेन सडकमा आकासे पुल निर्माणका लागि प्रक्रिया अगाडी बढाईएको छ । मोहना–अत्तरिया सडक आयोजना कार्यालय धनगढीको आग्रहमा सडक विभागले प्रक्रिया अगाडी बढाएको हो । मोहनापुलदेखि अत्तरियासम्मको सडकको चापलाई हेरेर आकासे पुल समेत निर्माण गर्न प्रक्रिया अगाडी बढाईएको आयोजना प्रमुख होमबहादुर एसीले जानकारी दिए ।
आकासे पुलका लागि चालु आर्थिक बर्षमा कार्यक्रम रहेको बताउँदै उनले आकासे पुलका लागि कार्यक्रम रहेको बताए । विभागको अनुगमन पछि कति र कुन ठाउँमा राख्ने निर्णय हुने उनको भनाई छ । उनका अनुसार धनगढीको ट्राफिक चौराह लगायत बढी भीडभाड हुने क्षेत्रमा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको हो । उनले आकासे पुल निर्माणका लागि विभागले नै सर्वे टोली पठाउने तयारी गरेको बताए ।
मोहना अत्तरिया सडक आयोजनाका अनुसार निर्माणका भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । एक नम्बर प्याकेजका लागि आगामी मंसीर ६ गते २ र ३ नम्बर प्याकेजका लागि आगामी माघ १६ गतेसम्म म्याद थप भएको छ । मोहना–अत्तरिया सडकमा सुरुमा ३ वटा पुल निर्माण गर्ने सम्झौता भएकोमा दुई वटा मात्र पुल निर्माणका लागि पनि प्रक्रिया अगाडि बढिसकेको छ ।