कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको भएको शनिबार २ वर्ष पूरा भएको छ । यो अवधिमा नेपाल प्रहरीका दुईजना प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले अवकाश पाए । यसबीचमा कञ्चनपुरका ४ जना एसपी पनि फेरिए । तत्कालीन समयमा दिल्लीराज विष्ट एसपी थिए भने हाल मुकुन्द मरासिनी छन् । अहिले आईजीपीको जिम्मेवारीमा शैलेश थापा छन् ।
यसबीचमा प्रहरीले अनुसन्धान नगरेको भने होइन तर प्रहरीकै अनुसन्धान विवादित बन्यो । कञ्चनपुरका तत्कालीन एसपीसहित अनुन्धानमा संग्लन अधिकारी बर्खास्तदेखि निलम्बनसम्म परे । केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी र कञ्चनपुर प्रहरीको टोली अनुसन्धानमा सक्रिय छ । तर हत्याराको पहिचान हुन सकेको छैन ।
१० साउन ०७५ मा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । घरबाट साथीको घर हिँडेकी निर्मला साउन ११ मा घरभन्दा केही वर रहेको उखुबारीमा मृत फेला परेकी थिइन् । प्रहरीकै अनुसन्धान विवादित बनेपछि सरकारले सहसचिव हरि मैनाली नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धानमा प्रहरीको कमजोरी औँल्याए पनि हत्यारा नजिक भने पुग्न सकेन । २ वर्षको अवधिमा प्रहरीले ७५ भन्दा डीएनए परीक्षण ग¥यो भने कतिपयलाई नियन्त्रणमै लिएर अनुसन्धान पनि ग¥यो ।
भदौ ४ मा प्रहरीले मुख्य अभियुक्त भन्दै भीमदत्तनगर १९ बाँगफाँटाका दिलिपसिंह विष्टलाई सार्वजनिक ग¥यो । दिलिपलाई नक्कली अभियुक्त बनाइएको भन्दै सोही समयमा कञ्चनपुरमा स्थानीयको प्रर्दशन सुरु भयो । प्रर्दशनकै क्रममा प्रहरीको गोली लागेर स्थानीय शनी खुनाले ज्यान गुमाए ।
दिलिपको डीएनए निर्मलाको शरीरबाट झिकिएको स्वावसँग मेल नखाएपछि उनी थुनामुक्त भए । तर तत्कालीन प्रहरी अधिकारी अझै पनि दिलिप नै मुख्य अभियुक्त रहेको दाबी गर्दै आएका छन् भने त्यसपछि अनुसन्धानमा संलग्न केही अधिकारी दिलिप अभियुक्त हुन नसक्ने जिकिर गर्दै आएका छन् । घटनालाई हेर्ने दृष्टिकोणमै प्रहरीभित्र दुई थरी धारणा र बुझाइ देखिन्छन् ।
अनुसन्धान साँघुरिँदैछ, जनताको सहयोग पाएका छौंः एसपी
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनी निर्मला हत्याकाण्ड आफ्नो र संगठनकै उच्च प्राथमिकतामा रहेको बताउँछन् । अनुसन्धानमा जनता र पीडित परिवारको सकारात्मक सहयोग पाइरहेको भन्दै अपराधीलाई कानुनी दायरामा ल्याई छाड्ने उनको विश्वास छ । उनले भने, “विगतमा विविध कारण प्रहरीले सहजतापूर्वक अनुसन्धान गर्न पाएन । त्यसका पछाडी थुप्रै कारण थिए । विगतका अनुसन्धानलाई पनि अध्ययन गर्दै, घटनाको हरेक कोणबाट हामी अनुुसन्धानमा सक्रिय छौं । म आफैँ पीडित परिवारको निरन्तर सम्पर्कमा छु । माहोल सकारात्मक बन्दै गएको छ ।”
हाल प्रहरी संगठनको नेतृत्व गरिरहेका आईजीपी शैलेश थापा क्षेत्रीले पनि निर्मला हत्याकान्डको अनुसन्धानलाई निष्कर्षमा पु¥याउन निर्देशन दिएको एसपी मरासीनी बताउँछन् । २ वर्षको अवधिमा प्रहरीले केही नगरेको भन्न नमिल्ने उनी बताउँछन् । उनले भने,“विगतमा कयौं प्रकारका असहजता थिए । जनता र प्रहरीबीचमा पनि केही समस्या आएकै हुन् । तर अहिले परिस्थिति फेरिएको छ । निर्मला हत्याकान्डका अपराधीलाई कानुनी दायरामा ल्याउन समुदाय–प्रहरी सँगसँगै अगाडी बढेका छौं ।”