प्रदेश गौरवको सतबाँझ–श्रीभावर सडकको काम सुरु
2020/07/26, 1:17
 
sadak

बैतडीमा प्रदेश गौरवको योजनाको रुपमा रहेको सतबाँझ(श्रीभावर–हाट–दार्चुला सडकको स्तरोन्नति गर्ने कार्य शनिबारदेखि सुरु भएको छ ।  प्रदेश गौरवको योजनाको रुपमा रहेको सो सडकको सतबाँझदेखि साढे ६ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे ८  किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएर काम अघि बढेको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए । 

चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सो सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता गरेर काम अघि बढाएको जोशीले बताए । उनले भने, ’लकडाउनका कारण केही ढिलो गरेर सडक स्तरोन्नती गर्ने कार्य सुरु भएको छ । अब तोकिएकै समयमा सडक स्तरोन्नति कार्यले पूर्णता पाउने छ ।’ सतबाँझदेखि साढे ६ किलोमिटर स्तरोन्नति गर्नका लागि १२ करोडमा ठेक्का सम्झौता भएको छ भने श्रीभावरदेखि हाट खण्डमा साढे ८ किलोमिटर स्तरोन्नतिका लागि १७ करोडमा ठेक्का सम्झौता भएको छ  । दुवै ठाउँबाट सडक स्तरोन्नति गर्ने कार्य सुरु भएको जोशीले बताए । अबको ३६ महिनामा काम सक्ने लक्ष्य सहित निर्माण कम्पनीसँग सम्झौता भएको छ । यो वर्ष पनि सो सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको जोशीले बताए । 

प्रदेश सरकारको गौरवको योजनाअन्तर्गतको सडक भएकाले सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक स्तरोन्नति गर्ने कार्य छिट्टै हुने समेत जोशीले दाबी गरे । सडक स्तरोन्नति गर्ने कार्यको उद्दघाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले विकास निर्माणका काममा ढिलासुस्ती नहुने दाबी गरे । उनले भने, ’हामीले प्रदेश गौरवका योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । यो वर्ष साउनदेखि नै प्रदेश सरकारले विकास निर्माणका कामहरु सुरु गरिसकेकाले समयमै काम सम्पन्न हुनेछन् । अब असारमा मात्रै विकास निर्माण हुने परीपाटीको अन्त्य हुनेछ ।’

प्रदेश गौरवको योजना अन्तर्गत सतबाँझ–श्रीभावर–हाट सडकको स्तरोन्नति गर्ने कार्य सुरु भएपछि यो सडकले नागरिकको जीवनस्तर सुधारमा टेवा पुर्याउने सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए । उनले भने, ’सडक पूर्वाधारको मेरुदण्ड हो । सडक निर्माण भएपछि ग्रामीण अर्थतन्त्रमा सुधार आउनेछ ।’