नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर बिष्टलाई नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिले पार्टीबाट निष्कासित गरेपछि डडेल्धुराका केही नेता कार्यकर्ताले सो निर्णयको विरोध गरेका छन्। नेपाली कांग्रेस डडेल्धुरामा व्याप्त चरम गुटबन्दीका कारण पार्टीको कारवाही भोग्न बाध्य उनको कारवाही फिर्ता हुनुपर्ने जिल्लास्तरीय नेता कार्यकर्ताहरुले माग गरेका छन्। कार्यालय सचिव बिष्टमाथि कारवाहीको अकल्पनीय समाचार सुनेर सिँगो पार्टी पंक्ति स्तब्ध भएको नेपाली कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणकर भट्टले बताए।
यस घटनाका बारेमा पार्टीमा छलफल चलाएर कारवाही फिर्ता गराउन नेतृत्वलाई दबाब दिने तयारी भइरहेको उनको भनाइ छ। नेपाली कांग्रेस डडेल्धुराका सदस्य सन्तोष देउवाले पार्टीका सभापतिज्युको गृहजिल्लामा इमान्दार कार्यकर्तालाई पन्छ्याउने षडयन्त्र हुनु दुःखद भएको बताए। उनले पार्टीलाई निर्णय फिर्ता लिन बाध्य हुनेगरी दबाब सिर्जना गरिने जानकारी दिए। शसस्त्र द्वन्द्वका बेला तत्कालिन विद्रोही माओवादीको आधार इलाका मानिने चिपुरबाट नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै नेपाली कांग्रेसको राजनीतिमा सकृय देखिएका बिष्ट २०७१ साल पुस १३ गतेदेखि नेपाली कांग्रेस डडेल्धुराको कार्यालय सचिवमा नियुक्त भएका हुन।
नियुक्त भएको ५ बर्षसम्म प्रतिमहिना १ हजार रुपैयाँ खाना खर्चवाफत पारिश्रमिक तोकिएका उनी इमान्दारिताका साथ अहोरात्र पार्टीको काममा खटिदै आएको नेपाली कांग्रेस डडेल्धुराका पाका नेता भरत नेपाली बताउँछन। उनका अनुसार पार्टीका सम्पुर्ण दस्तावेजहरु कम्युटरमा राख्ने, पार्टी सदस्यहरुको तथ्यांक राख्ने र व्यवस्थित रुपमा पार्टी कार्यालय सञ्चालनको जिम्मेवारी बिष्टले निभाउदै आएका थिए। २०६४ सालमा सम्पन्न पहिलो संबिधान सभाको निर्वाचनदेखि २०७० सालको दोस्रो संबिधान सभाको निर्वाचन र २०७४ सालमा सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको चिपुरस्थित मतदान केन्द्रमा एजेण्ट बसेका बिष्टलाई हरेक निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै देउवाले स्वाबासी दिने गरेका थिए।
२०६४ सालमा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा माओवादीको आधार क्षेत्र चिपुरमा काँग्रेसको प्रचारप्रसार गर्न समेत रोक लगाएको समयमा ज्यानको बाजी राखेर आफूकांग्रेसको एजेण्ट बसेको भएपनि पार्टीले वास्तविकता नबुझी सधारण सदस्यताबाट निष्कासन गरेको आरोप लगाए। ‘सदरमाकामस्थित जिल्ला पार्टी कार्यालय तोडफोड गरेर माओवादी कार्यकर्ताहरुले जिल्लास्तरी सबै नेता कार्यकर्ताहरुलाई कुटपिट गरेका थिए’ बिष्टले भने, ‘माओवादी कार्यकर्ताहरुले कञ्चटमा पेस्तोल तेस्र्याउदा पनि ज्यानको प्रवाह नगरी माओवादी उम्मेदवार खगराज भट्टको गाँउमा कांग्रेसको एजेण्ट बसेको हुँ।’
उनले पार्टी सभापति देउवाले समेत कामको मुल्यांकन गर्दै पटक पटक स्वाबासी दिएको बताए। २०७१ सालमा नेपाली कांग्रेसका देशभरिका पार्टी कार्यालय सचिवमध्ये सर्वोत्कृष्ट कार्य गरेको भन्दै कार्यालय सचिव बिष्ट पुरुस्कृत भएका थिए। ‘पार्टीले उत्कृष्ट काम गरेको भन्दै २० हजार रुपैयाँ नगदसहित एउटा कम्युटर र प्रसंसा पत्र प्रदान गर्दा निकै खुसी भएको थिए। आज पार्टीले वास्तविकता नबुझी सधारण सदस्यताबाट निस्कासन गरेको खबरले स्तब्ध भएको छु।’ उनले भने।
किन भयो विष्टलाई कारवाही ?
गत बर्ष २०७६ साउन ७ गतेका दिन नेपाल महिला संघ डडेल्धुरासँग सम्वद्ध केहि नेतृहरु नेपाली काँग्रेस डडेल्धुराको पार्टी कार्यालयमा कार्यालयको ढोका तोडफोड गरेर प्रवेश गरेपछि कार्यालय सचिव बिष्टले तोडफोड नगर्न आग्रहगर्दा भनाभन भएको थियो।
सोहि बिषयलाई लिएर महिला नेतृहरुमाथि हातपात गरेको भन्दै कार्यालय सचिव बिष्ट बिरुद्ध जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सार्वजनिक मुद्दा दर्ता गरिएको थियो। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कार्यालयमा तोडफोड हुँदा जोगाउन प्रयास गरेकाले बिष्ट निर्दोष रहेको फैसला गरिसकेको छ।
नेपाली कांग्रेस डडेल्धुराभित्र व्याप्त चरम गुटबन्दीका कारण नेपाल महिला संघ डडेल्धुराको अधिवेशनबाट निर्वाचित अध्यक्ष कमला बिष्टलाई यसअघि नेपाल महिला संघ केन्द्रीय समितिले सधारण सदस्यबाट निस्कासनगर्दै तत्कालिन उपाध्यक्ष कलावती बोहरालाई संयोजक तोकेर ६ महिनाभित्र जिल्ला अधिवेशन गर्न निर्देशन दिएको थियो।
संयोजक बोहराको नेतृत्वमा नेपाली कांग्रेस डडेल्धुराको कार्यालयमा प्रवेश गरेका महिला नेतृहरुसँग बिष्टको भनाभन भएपछि नेपाली काँग्रेसबाट समानुपातिक सुदूरपश्चिन प्रदेश सभाका साँसद गोबिन्दराज बोहरा, पार्टीका महाधिवेशन प्रतिनिधी तथा परशुराम नगरपालिकाका नगरप्रमुख भीमहादुर साँउद, नेपाल महिला संघकी नेतृ तथा परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहराले कार्यालय सचिव बिष्टलाई कारवाही गरिपाँउ भनि पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका थिए।
सो उजुरीका आधारमा अनुशासन समितिले माग गरे बमोजिम दुईपटक लिखित स्पष्टीकरण पेश गरिसकेको कार्यालय सचिव बिष्टले बताए। कार्यालय सचिव बिष्टमाथि पार्टीको गुटबन्दीका कारण कारवाही गरिएको भन्दै नेपाली कांग्रेस डडेल्धुरा सम्वद्ध नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत आक्रोश ब्यक्तगर्दै तत्काल कारवाही फिर्ता हुनुपर्ने माग गरेका छन।
महिला संघ डडेल्धुराको अधिवेशन उद्घाटन गर्न पुगेकी काँग्रेस नेतृ डा. आरजु राणा देउवा र नेपाली कांग्रेस डडेल्धुराका जिल्लास्तरीय केहि नेताहरुबीच अधिवेशनका क्रममा विवाद उत्पन्न भएपछि डा. राणाको निर्देशनमा निर्वाचित अध्यक्ष कमला बिष्टलाई महिला संघको सधारण सदस्यताबाट निष्कासन गरिएको थियो।